
एजेन्सी : दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले राजनीतिमा आफ्नो पहिलो पाइलामै चमत्कार देखाएका छन् । तमिलनाडु विधानसभा चुनावको प्रारम्भिक रुझानमा विजयको पार्टी 'तमिलगा वेट्री कड्गम' (टिभिके)ले सत्तारुढ डिएमकेलाई पछि पार्दै ठुलो अग्रता लिएको छ ।
पछिल्लो तथ्यांक अनुसार, विजयको पार्टी टिभिके १०४ सिटमा अगाडि छ । अर्कोतर्फ, मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको सत्तारुढ डिएमके ६३ सिटमा मात्र अगाडि देखिएको छ । प्रमुख विपक्षी दल एआइएडिएमके ६७ सिटमा अग्रताका साथ दोस्रो स्थानमा छ ।
स्वयं विजय पेराम्बुर सिटबाट चुनावी मैदानमा छन्, जहाँ उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी आरडी शेखरभन्दा करिब ३ हजार मतले अगाडि रहेका छन् ।
'थलपति' नामले चिनिने विजयले सन् २०२४ फेब्रुअरीमा औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्दै आफ्नो पार्टी टीभीके गठन गरेका थिए । उनले २०२४ को लोकसभा चुनाव नलडी २०२६ को विधानसभा चुनावलाई आफ्नो मुख्य लक्ष्य बनाएका थिए । राजनीतिमा पूर्ण रूपमा समर्पित हुन उनले सिनेमा क्षेत्र छोड्ने घोषणा समेत गरिसकेका छन् । उनको अन्तिम फिल्म 'थलपति ६९' हुने बताइएको छ ।
विजयको पार्टीले धर्मनिरपेक्षता र सामाजिक न्यायलाई आफ्नो मुख्य सिद्धान्त मानेको छ । उनले आफ्नो पार्टी पेरियारको बाटोमा चल्ने तर पेरियारको नास्तिकतासम्बन्धी विचारलाई भने पूर्ण रूपमा स्वीकार नगर्ने स्पष्ट पारेका छन् । साथै, टिभिकेले तमिलनाडुमा तमिल र अंग्रेजी गरी दुई भाषाको नीतिलाई समर्थन गर्ने र जातिगत जनगणनाको पक्षमा उभिने बताएको छ ।
विजयको राजनीतिक यात्रा सजिलो भने रहेन । राजनीतिमा आउनुअघि उनको आफ्नै पिता एसए चन्द्रशेखरसँग मतभेद भएको थियो, जसमा उनले आफ्ना आमाबुबा लगायत ११ जनाविरुद्ध मुद्दा समेत दर्ता गराएका थिए । साथै, गत सेप्टेम्बरमा उनको पार्टीको र्यालीका क्रममा भएको भागदौडमा ३९ जनाको मृत्यु भएको दुःखद घटनाले पनि उनको राजनीतिक जीवनमा चुनौती थपेको थियो ।
हालको रुझानले तमिलनाडुको राजनीतिमा ठुलो परिवर्तनको संकेत गरेको छ । यदि यी रुझानहरू नतिजामा परिणत भएमा, सिनेमाको पर्दाका 'हिरो' विजय तमिलनाडुको वास्तविक राजनीतिक 'हिरो' बन्ने निश्चित देखिएको छ ।