
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनसरीको दुहबीमा भएको सभाको उद्घाटन पूर्व मन्त्री भगवती चौधरीले गरिन् ।
चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीनदशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिला दिदी बहिनीहरुको आर्थिक, सामाजिकतथा राजनैतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताइन् ।
राज्यले कहिल्यै ऋण मिनाहा गर्ननसक्ने भएकाले गलत तत्वका पछि नलाग्न सुझाव समेत दिइन् । उनले आफूले लिएको कर्जालाई उत्पदान क्षेत्रमा मात्र लगानी गर्न आग्रह समेत गरिन् । सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
सभाले विशेष प्रस्तावका रूपमा वित्तीय संस्थाको हाल कायम पुँजी संरचना संस्थापक समूह र सर्वसाधारण समूह शेयर संरचना क्रमश: ७० प्रतिशत र ३० प्रतिशत रहेकामा संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयरलाई कुल चुक्त पुंजीको १० प्रतिशतले सर्वसाधारण शेयर परिवर्तन गरी नयाँ शेयर समूह र सर्वसाधारण समूह क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्न स्वीकृत गरेको छ ।
संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीयनिकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको जनाएको छ ।
त्यस्तै हालसम्म १ लाख २३ हजार ऋणी ग्राहक सदस्यसँग २२ अर्ब २४ करोड १२ लाख ३३ हजार लगानीमा बाँकी रहेको कर्जा रहेको छ । त्यसै गरी वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट १० अर्ब ७३ करोड ६९ लाख ७६ हजार बचत संकलन गरेको जनाएको छ ।