काठमाडौं÷मस– नेपाल भारतमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे । यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको इन्ज्युरी समयमा भारतका पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाए । थ्रो इन गर्न ढिलाई गरेपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । त्यसपछि खेल शुरु भएपनि रेफ्रीविरुद्ध अपशब्द प्रयोग गरेपछि क्षेत्रीले उनलाई सिधै रातो कार्ड दिए । भारतका सर्वाधिक गोलकर्ता मध्यका पार्थिवले अब फाइनल खेल गुमाउनेछन् ।
यसअघि नेपालसँग १–१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो । भारतले अन्तिम खेलमा जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भयो । भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो ।
नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ गर्दै नेपाललाई अघि बढ्न दिएका थिएनन् । उनले आयुष घलानको प्रहरलाई सुरुवाती समयमा नै विफल पार्दै खेल गोलरहित बनाए ।
दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।
खेलको ६३ औं मिनेटमा बंगलादेशले अग्रता लियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाईअघि बढाए । त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो । तर तेस्रो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको थियो । अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपालले ७ अंक जोड्यो । शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्यो भने दोस्रो स्थानको भारतले ९ अंक बटुल्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies