एजेन्सी : अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।
पेलोसी सवार विमान ताइपेइको शेङहाङ विमानस्थलमा स्थानीय समयअनुसार बेलुका १० बजेर ३० मिनेटमा अवतरण गरेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । पेलेसी मलेसियाबाट सिधै ताइपेइ पुगेकी हुन् ।
ताइवान झरेकी अमेरिकी सभामुख पेलोसीले विश्वले अहिले निरङ्कुशतन्त्र र लोकतन्त्रबीच छनोटको सामना गरिरहेको बताएकी छन् । उनले ताइवानका दुई करोड ३० लाख नागरिकसँग अमेरिकाको ऐक्यवद्धता रहेको पनि बताएकी छन् । उनले ताइवानको लोकतन्त्रका लागि अमेरिको साथ निरन्तर रहने बताएकी छन् । उनले ताइवान भ्रमणले इन्डो प्यासिफिक क्षेत्रको सम्बन्ध थप बलियो हुने बताएकी छन् । उनले भनेकी छन्, ‘हाम्रो प्रतिनिधिमण्डलको ताइवान भ्रमणले ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको अटल प्रतिबद्धतालाई सम्मान गर्छ ।’
उनले अगाडि थपेकी छन्, ‘ताइवान नेतृत्वसँगको हाम्रो छलफलले हाम्रो साझेदारका लागि हाम्रो समर्थनलाई पुनः पुष्टि गर्छ र स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रलाई अगाडि बढाउनेलगायत हाम्रा साझा हितहरूलाई बढावा दिन्छ ।’
चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ । उसले मंगलबार पनि उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies