
दोहा, कतार : मोना कतार बहुउद्देश्यीय अक्षयकोषले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको चिट्ठा कार्यक्रमको आय-व्यय विवरण समीक्षा बैठकपश्चात् 'मध्यान्ह राष्ट्रिय दैनिक' मार्फत सार्वजनिक गरेको छ । उक्त कार्यक्रमबाट कुल ११ हजार ५ सय ५० कतारी रियाल आम्दानी भएको थियो । जसमध्ये पुरस्कार, हल भाडा र ब्यानर लगायतमा ५ हजार ७१ रियाल खर्च भई ६ हजार ४ सय ७९ रियाल बचत भएको कोषले जनाएको छ ।
बचत रकममध्ये केही नगद कोषमै रहेको र ६ हजार कतारी रियाल (२ लाख ४८ हजार ८ सय २८ नेपाली रुपैयाँ) कोषको खातामा जम्मा गरिएको कोषाध्यक्ष रमेश पौडेलले जानकारी दिए । कार्यक्रम सम्पन्न भएको दुई हप्ता नबित्दै पारदर्शिता कायम गर्न विवरण सार्वजनिक गरिएको बताउँदै उनले भने, "हाम्रो उद्देश्य केवल कार्यक्रम गर्नु मात्र होइन, बरु सङ्कलित रकमलाई पारदर्शी ढंगले समाजका असहाय र आवश्यकता परेका व्यक्तिहरूसम्म पुर्याउनु हो ।"
यो कोष विक्रम संवत् २०७६ साल माघ २४ गते जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा विधिवत् दर्ता भई स्थापना भएको हो । कोषले एक करोड रुपैयाँ बराबरको 'मूल कोष' बनाउने लक्ष्य लिएको र सोहीअनुरूप अगाडि बढिरहेको अध्यक्ष विक्रम कार्कीले बताए । 'अक्षयकोष' को मुख्य मर्म नै मानवीय सेवा र दीर्घकालीन हित भएको उल्लेख गर्दै उनले विपन्न वर्गको सहायता, शिक्षा, स्वास्थ्य र दैवी प्रकोपमा परेका नागरिकलाई सहयोग गर्नु आफूहरूको उद्देश्य रहेको प्रष्ट पारे । चिट्ठा कार्यक्रमको आम्दानीले आगामी दिनमा थप सेवामूलक कार्य सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ ।
यसै अवसरमा चिट्ठा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने अभिभावक संस्था मोना कतार, कार्यसमिति, सहयोगी संस्थाहरू, टिकट खरिदकर्ता र शुभचिन्तकहरूलाई कोषले धन्यवाद व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्ता मानव सेवा र परोपकारी कार्यलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता कोषले व्यक्त गरेको छ ।