
काठमाडौँ : अर्थतन्त्रको गतिविधि सुस्त रहँदा र कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता केन्द्रीय बैंकतर्फ केन्द्रित भइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत उक्त रकम व्यवस्थापन गरिरहेको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाबाट करिब १० खर्ब ९ अर्ब रुपैयाँ बराबरको रकम राष्ट्र बैंकमा संकलित छ। यो रकम निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा तथा राष्ट्र बैंकद्वारा जारी ऋणपत्रमार्फत व्यवस्थापन गरिएको हो । विवरणअनुसार करिब ७ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणबाट, २ खर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत र करिब ५५ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत तानिएको छ ।
तरलता व्यवस्थापनकै निरन्तरतामा केन्द्रीय बैंकले पुनः अल्पकालीन उपकरण प्रयोग गर्दै थप रकम संकलन गर्ने तयारी गरेको छ । यसक्रममा ४४ दिने अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने योजना रहेको छ। यसअघि वैशाख १७ गते ९७ दिने अवधिको १ खर्ब २० अर्ब रुपैयाँ बराबरको उपकरण जारी गरिएको थियो ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार हाल वित्तीय प्रणालीमा करिब ४३ अर्ब रुपैयाँ तरलता उपलब्ध रहेको छ । यद्यपि, यसअघि संकलित रकम परिपक्व हुँदै जाने क्रमसँगै पुनः बजारबाट रकम खिच्ने आवश्यकता परेको हो ।
सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूले प्रणालीमा अधिक तरलता भएको अवस्थामा अल्पकालीन रूपमा स्थायी निक्षेप सुविधा प्रयोग गरी केन्द्रीय बैंकमा रकम राख्ने गर्छन् । निक्षेप संकलन उपकरणमार्फत भने केन्द्रीय बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम विनियोजन गर्छ ।
मौद्रिक नीति कार्यान्वयनका क्रममा केन्द्रीय बैंकले तरलता अधिक हुँदा निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा प्रयोग गरी रकम बजारबाट झिक्ने र अभाव हुँदा रिपो तथा स्थायी तरलता सुविधामार्फत बजारमा रकम प्रवाह गर्ने गर्दछ । हाल ब्याजदर करिडोर अन्तर्गत बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम रहेको छ ।