
काठमाडौं : नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अब नयाँ नेतृत्वमा प्रवेश गरेको छ । वरिष्ठ उपाध्यक्षको भूमिकाबाट अञ्जन श्रेष्ठ अध्यक्ष बनेसँगै महासंघले अर्को तीन वर्षका लागि नयाँ दिशा र गतिका अपेक्षा बोकेको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ, जसले संस्थागत निरन्तरता सुनिश्चित गर्ने उद्देश्य राख्छ । यही व्यवस्थाअन्तर्गत श्रेष्ठ नेतृत्वमा पुगेका हुन् । उनी महासंघको २१औं अध्यक्षका रूपमा अगाडि आएका छन् ।
यसअघि चन्द्रप्रसाद ढकालको नेतृत्वमा रहेको महासंघ अब श्रेष्ठको सोच र कार्यशैलीमा अघि बढ्नेछ । देशभर करिब पाँच लाख उद्यमी–व्यवसायी आबद्ध रहेको यस संस्थाको नेतृत्व लिनु सामान्य जिम्मेवारी होइन- यो अर्थतन्त्रको धड्कनसँग प्रत्यक्ष जोडिएको भूमिका हो ।
सरकारसँग सहकार्य गर्दै आर्थिक वृद्धिलाई गति दिनु, नीतिगत सुधारका लागि पहल गर्नु र निजी क्षेत्रको मनोबल उकास्नु- यी सबै अपेक्षाहरू नयाँ अध्यक्ष श्रेष्ठका काँधमा आएका छन् ।
श्रेष्ठ व्यावसायकि घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । उनले अटोमोबाइल, उत्पादन, सेवा र पर्यटनजस्ता विविध क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

उनको व्यवसायिक यात्रा पारिवारिक उद्यमबाट सुरु भएको हो । पोखराबाट सानो मिठाइ पसलका रूपमा सुरु भएको व्यवसाय आज कन्फेक्सनरीदेखि अटोमोबाइलसम्म फैलिएको छ । नेपाली बजारमा खाद्य उत्पादनको क्षेत्रमा उल्लेख्य हिस्सा ओगटेको सुजल फुडजस्ता उद्योगहरूले यो यात्रालाई थप बलियो बनाएका छन् ।
लक्ष्मी ग्रुपले हाल हुन्डाई ब्राण्डका केही भेरियन्ट गाडी नेपालमै एसेम्बल पनि गरिरहेको छ ।
२०५९ सालमा महासंघमा प्रवेश गरेका श्रेष्ठले विभिन्न समितिमा रहेर काम गरेका छन् । राजस्व, उद्योग र रोजगारदाता परिषदजस्ता निकायमा जिम्मेवारी सम्हाल्दै उनले निजी क्षेत्रका मुद्दाहरूलाई नजिकबाट बुझेका छन् ।
अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि नै उनले आफ्नो कार्यकालका प्राथमिकताहरू सार्वजनिक गरिसकेका छन् । उनका अनुसार आगामी तीन वर्षमा निजी क्षेत्रलाई थप सशक्त बनाउने, उद्यमीहरूको हित संरक्षण गर्ने र अर्थतन्त्र विस्तारमा ठोस योगदान दिने लक्ष्य रहनेछ ।
उनले निजी क्षेत्रलाई सरकारको सहयात्री र साझेदारका रूपमा प्रस्तुत गर्दै अर्थतन्त्रमा यसको योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।