सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा विभिन्न बहानामा कुटपिट गर्दा ५ महिने गर्भवती महिलाको मृत्यु भएको छ ।
छोरा चाहियो भन्दै घरका सदस्यहरुले कुटपिट गरेर २१ वर्षीया पुनम साहको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
बाराको पचरौता न.पा. वडा नं ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी छोरी पुनम साहको ५ वर्ष अघि समाजिक परम्परा अनुसार रौतहटको मौलापुर न.पा. वडा नं ७ संगैयाका सियाराम साहको छोरा रविन्द्र साहसँग विवाह भएको थियो ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बिहीबार पत्रकार सम्मेलन गर्दै माइती पक्षले मृतक पुनम २ वर्षअघि गर्भवती भएको बेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भमा रहेको बच्चा छोरी भएको जानकारी हुनासाथ मृतकलाई डरत्रास, धम्की दिएर सो गर्भपतन गर्न लगाएको बताएको छ ।
हाल दोस्रो पटक गर्भवती हुँदा पनि पुनमको गर्भ भित्र के छ भनेर अल्ट्रासाउण्ड गराउन लगेपछि छोरी भएको थाहा पाई श्रीमान पक्षले गर्भ तुहाउन दबाब दिन थालेको र मृतक पुनमले इन्कार गरेपछि ससुरा, सासु, श्रीमान तथा घरका अन्य सदस्यहरुले कुटपिट गरी सामूहिक हत्या गरेर पासो लगाई झुन्डयाएको माइती पक्षको आरोप छ ।
गत साउन १५ गते बिहान करिब ८ देखि १० बजेको समयमा हत्या गरी माइती पक्षलाई राति ८ बजे १० घण्टाको अन्तरालमा मात्र जानकारी आएको मृतक पुनमका दाइ पन्नालाल साहले पत्रकार सम्मेलनमा जानकारी दिए । खबर आएपश्चात हेर्न जाँदासमेत मृतक बहिनी पुनम समक्ष प्रहरी र श्रीमान पक्षका व्यक्तिहरुले पुग्न नदिएको उनको भनाइ छ । उनले भने, 'मेरो बहिनीलाई झुन्डिएको अवस्था बनाई हामीलाई शव पोष्टमार्टम गरेको समेत हेर्न दिइएन ।'
बहिनीको हत्या भएको ४ दिन बितिसक्दा पनि न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाउँदा न्याय नपाएको माइती पक्षले गुनासो गरे ।
मृत अवस्थामा फेला पर्दा बहिनीको जिउमा एउटा लुगा रहेको तर पछि फरक-फरक ३ किसिमका लुगा फेरिएको हुँदा पनि यो आत्महत्या नभई हत्या पुष्टि हुने पुनमका दाइ साहले बताए ।
बहिनीको हत्या भएको पुष्टि हुँदाहुँदै पनि पिडक पक्षको प्रहरी प्रशासनमा ठूलो पहुँच भएका कारण आफूहरुले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा लिएर जाँदा कुनै प्रकारको सुनवाइ नभएको मृतकका दाइ साहले गुनासो पोखे ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies