
काठमाडौं : काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ । बिहीबारदेखि सुरु भएको फेयरको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले उद्घाटन गरे ।
फेयरमा दक्षिण एसियाली देशका उद्योग, व्यापार तथा सेवासम्बन्धी उत्पादनहरु प्रदर्शनीका लागि राखिएको छ । दक्षिण एसियाली राष्ट्रहरुको विभन्न उत्पादन तथा सेवाको प्रवर्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–विक्रेताबीच सहकार्य विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवा लगायतका सामग्रीहरूमा प्रदर्शनीमा राखिएको छ ।
साथै, व्यापारिक भेटघाट, फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ । मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ ।
देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चिततालाई तोड्दै मेलाले निजी क्षेत्रलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । वैशाख २८ गतेसम्म चल्ने मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका देशहरूको सहभागिता रहेको छ ।