
दोहा, कतार : कतारमा सामाजिक क्षेत्रमा सक्रिय तथा स्थापित संस्था स्याङ्जा सहयोग समाज कतारले आफ्नो २२औं स्थापना दिवस तथा २१औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शुक्रबार आयोजित विशेष समारोहबिच समाजले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै केक काटेर उत्सव मनाएको हो ।
समाजका अध्यक्ष घनश्याम जैसीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल विक (अजय) प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि विकले स्याङ्जा समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको बताए । उनले भने, “गण्डकी प्रदेश मातहतका जिल्ला संस्थाहरूमध्ये स्याङ्जा समाज अत्यन्त अग्रसर र क्रियाशील संस्था हो, आगामी दिनमा पनि प्रदेशसँग समन्वय र सहकार्य गर्दै अझ प्रभावकारी सामाजिक कार्यहरू गर्न म आग्रह गर्दछु।”

कार्यक्रममा विभिन्न जिल्ला संस्थाका पदाधिकारी तथा संस्थाका अग्रज व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै समाजले कतार र गृह जिल्ला स्याङ्जामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
विश्वका २४ वटा देशमा सञ्जाल फैलिएको स्याङ्जा सहयोग समाजको अन्तर्राष्ट्रिय सञ्जालअन्तर्गत कतार शाखा पहिलो पटक स्थापना भएको ऐतिहासिक शाखा समेत हो । कार्यक्रममा प्रमुख अतिथि विकलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।
भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक
स्थापना दिवसकै अवसर पारेर समाजले सञ्चालन गरेको “भाग्यशाली चिट्ठा” कार्यक्रमको नतिजा पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार प्रथम पुरस्कार (५ ग्राम सुन) चिट्ठा नं. ३८४ का विक्रम राउतले जितेका छन् । द्वितीय पुरस्कार (एक थान ल्यापटप) चिट्ठा नं. १८५९ की सप्रियाले प्राप्त गरेकी छन् भने तृतीय पुरस्कार (३२ इन्च टिभी) चिट्ठा नं. १७० का दीपक सुनारले जितेका छन् ।

त्यस्तै सान्त्वना पुरस्कारअन्तर्गत १० थान कप क्रमशः राम सन्तोष (१८१७), सन्ध्या चौलागाईं (१२५८), रोशन अर्याल (६५३), बमबहादुर विक (१३०१), बलराम परियार (१७५३), विष्णु ढकाल (१४१४), देवनारायण शाह (९२९), भूपेन्द्र (१२०४), पदम कोइराला (१५७१) र लीलबहादुर गुरुङ (१०८४) ले जितेका छन् ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष जैसीले संस्थालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेका नेपालीहरूको हितमा समाज सधैं प्रतिबद्ध रहने बताए । उनले चिट्ठा कार्यक्रमबाट संकलित मुनाफा रकमको उद्देश्यबारे प्रस्ट पार्दै उक्त मुनाफा रकम मार्फत स्याङ्जा जिल्लाका अति आवश्यक विपन्न, गरिब, असहाय, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू र अति आवश्यक पर्ने क्षेत्रहरूमा स्याङ्जा अन्तर्राष्ट्रिय समाजसँग समन्वय गरेर सहयोग उपलब्ध गराइने प्रतिबद्दता व्यक्त गरेका छन् ।

कार्यक्रमको औपचारिक सहजीकरण समाजका महासचिव रोशन अर्यालले गरेका थिए भने सुरुवातमा समाजका वरिष्ठ उपाध्यक्ष शिवराम ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा कलाकार अनिता परियारले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक पुकार थापाले आफ्नो साङ्गीतिक प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।










