बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको घर खर्चबाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर उनी पशुपालनमा लागे । किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिएका छन् ।
दोवावेशी बाख्रापालन फार्म स्थापना गरेका पुर्जा निवर्तमान वडा सदस्य पनि हुन् । अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थालेका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी संगठनको कामलाई अघि बढाउने गरेको बताए । दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन शुरु गरेका उनको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षमा बाख्राको संख्या सय पुर्याउने पुर्जाको योजना छ ।
वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पुर्याउन नसकेको बताए । दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडापालन गर्दै आएका थिए ।
फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिइएको छ । फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैँसी छन् । उनले बेँशी नजिकैको सुनारीमा वार्षिक रु २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बंगुर र माछापालनसमेत गर्ने तयारी गरेका छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies