
दोहा : कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षा र स्थिरता अभिवृद्धि गर्ने तथा शान्ति स्थापनाका लागि भइरहेका प्रयासहरूको समीक्षा गरिएको थियो ।
कतारका प्रधानमन्त्रीले यस क्षेत्रमा देखिएका सङ्कटहरूलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न कतारको पूर्ण समर्थन रहेको कुरा दोहोर्याएका थिए । थानीले वार्ताको वातावरण बनाउन र सम्भावित तनावलाई रोक्न सबै पक्षले जिम्मेवार भएर कदम चाल्नुपर्नेमा जोड दिए ।
थानीले अन्तर्राष्ट्रिय जल क्षेत्रमा नौवहान स्वतन्त्रता नै एक सर्वमान्य सिद्धान्त भएको उल्लेख गर्दै यसलाई कुनै पनि बहानामा सङ्कुचित गर्न नहुने बताए । 'हर्मुज जलडमरू' बन्द गरी यसलाई दबाबको हतियारका रूपमा प्रयोग गर्दा क्षेत्रीय संकट थप गहिरिने र यसले विश्वव्यापी ऊर्जा तथा खाद्य आपूर्ति प्रणालीमा गम्भीर असर पुर्याउने उनको भनाइ थियो ।
वार्तामा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको पालना गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा सुदृढ गर्न र तनाव कम गर्ने दिशामा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । यसअघि कतारको रक्षा मन्त्रालयले मेसाइद पोर्ट नजिकै एक व्यापारिक जहाजमाथि भएको ड्रोन आक्रमणको पुष्टि गर्दै त्यसको भर्त्सना गरेको थियो ।