काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागिताको लागि पहल गरेको छ । लोसपाका नेता राजेन्द्र महतोका अनुसार पार्टी सरकारमा सहभागी हुने वा नहुन भन्ने बारेमा टुंगो भने लागिसकेको छैन ।
सरकारमा नभए पनि पाँच दलीय गठबन्धनमा सामेल हुने लोसपाको तिब्र आकांक्षा देखिन्छ । मंगलवार संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।
‘हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं,’ उनले भने । यही बेला जसपा फुटाएर अघि बढेका डा.बाबुराम भट्टराई पनि सत्ता गठबन्धनमा सामेल हुन खोजिरहेका छन् । डा. भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै यस्तो प्रस्ताव राखेका हुन ।
जसपा फुटाएर डा.भट्टराईले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन् । पार्टीका भट्टराई संगसंगै महेन्द्रराय यादव पनि अध्यक्ष छन् । मंगलबार दुबै अध्यक्षले प्रधानमन्त्री देउवालाई भेटेर आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउने प्रस्ताव राखेका हुन् ।
लोसपा, जसपा र नेपाल समाजवादी पार्टी केही समयअघिसम्म एउटै थिए । जसपाको अध्यक्षमा उपेन्द्र यादव थिए भने संघीय परिषद अध्यक्षमा डा.भट्टराई । सिनियर अध्यक्षमा महन्थ ठाकुर थिए ।
१ भदौ २०७८ मा सरकारले पार्टी र संसदीय दलमा २० प्रतिशत पुर्याए पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याएपछि ठाकुरले जसपा फुटाएर लोसपा बनाए । त्यसपछि पनि जसपामा यादव र डा.भट्टराईका बीचमा टकराव कायमै रह्यो । अन्तत चुनावको मुखमा आएर डा.भट्टराई पनि जसपा फुटाएर अघि बढेका छन । सरकारले आगामी मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधिसभा चुनावको मिति घोषणा गरेको छ । जसपा सिंगै रहँदा पनि पाँच दलीय गठबन्धनमा थियो, अहिले पनि छ । तर, जसपाबाट फुटेर गएर दुइ पार्टीका नेतृत्वले भने आफुले बनाएका नयाँ पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies