कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : राजनीतिक दलहरुले महिला नेताहरुलाई प्रत्यक्ष चुनाव लड्ने अवसर नदिएको आवाज सदनमा समेत उठ्न थालेको छ । हरेक चुनावमा महिलाहरुलाई समानुपातिक सिट दिएर कमजोर देखाउन खोजिएको भन्दै प्रत्यक्षतर्फ पनि महिलाहरुको समान सहभागिता हुनुपर्ने आवाज उठेको हो ।
'हामीले संविधान यस्तो लेखेका छौं जहाँ महिला र पुरूषबीच कुनै विभेदको कल्पना छैन । संविधानको धारा १८ मा समानताको हकको व्यवस्था छ । हामी व्यवहारमा किन कमजोर छौं ? आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हामी महिलाहरू समानुपातिकमा मात्रै होइन प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौं । सधैंभरि सजिलो बाटोमा हिँडेर हामी कमजोर हुन चाहन्नौं । कठोर र संघर्षशील बाटो हिँडेर राज्यका महत्त्वपूर्ण निकायमा प्रतिनिधित्व गर्न चाहन्छौं । जुन चुनावकै बाटो हो,’ नेपाली कांग्रेसकी नेता एवं सासंद डिला संग्रौलाले भनिन् । महिला नेताले प्रत्यक्ष चुनाव नलडेसम्म चुनाव झनै खर्चिलो हुने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा सांसद अमृता थापामगरले जनसंख्याको आधारमा उम्मेद्वार चयन हुनुपर्ने माग राखेकी छिन् । ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक छ’ उनले भनिन् । निर्वाचन प्रणालीबारे गलत मानसिकता बस्ने सम्भावना देखिएकाले त्यसमा सुधार हुनुपर्ने उनको माग छ ।
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख मध्ये महिलाको संख्या ६ लाखले बढी छ । तर, गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जम्मा ६ जना महिलाले मात्रै प्रत्यक्ष चुनाव जितेका थिए । समानुपातिकमा ८४ गरि जम्मा ९० जना महिलाको संसदमा प्रतिनिधित्व छ । त्यस्तै, राष्ट्रियसभामा २१ जना महिला गरि संघीय संसदमा ११२ जना महिला सांसद रहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि रूवाण्डामा तल्लो सदनमा ६१ प्रतिशत र माथिल्लो सदनमा ३४ प्रतिशत बढी महिलाको प्रतिनिधित्व छ । त्यस्तै, क्युबामा ५३ प्रतिशत, मेक्सिको र युएईमा ५० प्रतिशत, न्युजिल्याण्डमा ४९ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व सदनमा छ । साथै फ्रान्समा भने २ प्रतिशत भन्दा बढीले उम्मेदवारीमा लैंगिक रूपमा फरक देखियो भने १.५ गुणाले सार्वजनिक कोषमा घटाउने व्यवस्था रहेको छ । नेपाललमा पनि प्रत्यक्ष निर्वाचनामा महिलाको उल्लेख्य सहभागिता हुनुपर्ने आवाज पटकपटक उठेपनि त्यसको कार्यान्वयन भने हुनसकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies