
काठमाडौं : सरकारले छात्रवृत्ति रकम डिजिटल माध्यमबाट सिधै बैंक खातामा उपलब्ध गराइने नीति लिएको छ । नीति तथा कार्यक्रममा योग्यतामा आधारित छात्रवृत्ति सञ्चालन गरिने सरकारको नीति कार्यक्रममा समावेश गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने पनि सरकारले जनाएको छ । सरकारले शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी सामाजिक पुनःएकीकरणका कार्यक्रम सञ्चालन गरिने तथा आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने लक्ष सरकारले लिएको छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।