२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

मिडियालाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

Nada
सूर्यप्रसाद भुसाल
२०८३ वैशाख २८ गते २१:१४
Shares
मिडियालाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन्  ।

ncell

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो  ढंगले अघि बढेको टिप्पणी गरेका हुन् ।

उनले एउटा व्यक्तिलाई अलौकिक शक्तिको रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ्दै गएको टिप्पणी गरेका छन् । 

‘आज निशाना मिडिया माथि छ, निशाना गरिब निमुखा माथि छ, निशाना ट्रेड युनियन माथि छ,’ उनले भने, ‘त्यहीँ भएर तपाई हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत आफूहरुले कडा असन्तुष्टि राखेको जानकारी दिए  । ‘प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायौं, तर अझै सुधार भएको छैन,’ उनले भने ‘मिडिया माथि लगाइको अंकुशबारे सबैभन्दा पहिला धारणा प्रदेश सरकारको तर्फबाट राखेका हौं ।’

प्रदेश सरकार मिडियामैत्री  रहेको उल्लेख गर्दै आचार्यले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिए ।

अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै कार्यान्वयन पक्षमा केही समस्या देखिएको जिकिर गरे ।

मुख्यमन्त्री आचार्यले संघीय सचिवहरु प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाइ भएको स्पष्ट पारे । 

सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको उनको भनाइ छ ।

पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले राजनीतिक दलहरु सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु सडकमा उत्रिएको स्मरण गरे । 

‘मिडियालाई कमजोर बनाउन संघीय सरकारले एकाधिकार लाद्न खोजेको छ,’ उनले भने, ‘आज विज्ञापन रोक्ने, भोलि समाचारमा सेन्सर लगाउने र पछि मिडियालाई प्रतिबन्ध लगाउने अवस्था नआउला भन्न सकिँदैन ।’

उनले सञ्चार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य ले मिडिया मैत्री नीति आवश्यक रहेको बताए । उनले दुई तिहाइको सरकारमा दम्भ देखिएको आरोप लगाउँदै सरकार जनता र मिडियाप्रति संवेदनशील हुन नसक्दा निरंकुश बन्न थालेको टिप्पणी गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ले सञ्चार क्षेत्र अस्तित्व संकटमा पुगेको बताए । विकासभन्दा विज्ञापनमा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले बुटवललाई ‘मिडिया सिटी’का रुपमा विकास गर्न सकिने सम्भावना रहेको धारणा ब्यक्त गरे ।

‘मिडिया हाउस विस्थापित भएर जाँदा रमिते भएर हेर्ने कि जोगाउने भन्ने विकल्प आएको छ,’उनले भने,‘बुटवलमा मिडिया सिटी निर्माणका लागि पहल थाल्नुपर्छ ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि र मिडिया नीतिलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर