
बझाङ : निर्माण व्यवसायी संघ बझाङको सातौँ जिल्ला अधिवेशनबाट नयाँ २२ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ ।
अधिवेशनले शेर बहादुर बोहोराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै निर्माण व्यवसाय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जिम्मेवारी सुम्पिएको हो ।
नवगठित कार्यसमितिको अध्यक्षमा शेरबहादुर बोहोरा निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्रबहादुर खड्का, प्रथम उपाध्यक्षमा दिनेशबहादुर बोहोरा र द्वितीय उपाध्यक्षमा हेमन्त भण्डारी चयन भएका छन् । त्यसैगरी महासचिवमा पुष्कर रोकाया तथा आन्तरिक उपमहासचिवमा भरत बहादुर कठायत निर्वाचित भएका छन् ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएर पद हस्तान्तरणसमेत गरिएको छ । नयाँ नेतृत्वले निर्माण व्यवसाय क्षेत्रलाई पारदर्शी, जिम्मेवार र व्यवस्थित बनाउँदै जिल्लाको विकास तथा समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
संघले निर्माण व्यवसायीबीच साझा सहकार्य, इमानदारी र प्रतिबद्धतालाई प्राथमिकतामा राख्दै व्यवसायीहरूको हकहित संरक्षणका साथै बझाङको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।