२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पोर्चुगलमा नेपाली खाना र संस्कृतिमार्फत नेपालको पर्यटन प्रवर्धन गर्दै टंक सापकोटा

अनाथ र असहाय बालबालिकालाई सहयोग गरिने

Nada
भरत प्रधान
२०८३ वैशाख ३१ गते १५:०३
Shares
पोर्चुगलमा नेपाली खाना र संस्कृतिमार्फत नेपालको पर्यटन प्रवर्धन गर्दै टंक सापकोटा

लिस्बन : पोर्चुगलमा चर्चित नेपाली सेफ टंक सापकोटाले नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित विशेष अभियान सुरु गरेका छन् ।

ncell

आफू पोर्चुगल आएको ३० वर्ष पूरा भएको अवसरमा सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट ‘काजा नेप्लिजा’ (नेपाली भान्सा घर) मा नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित 'नेपालसम्मको यात्रा' अभियान सुरु गरेका हुन् । अभियानअन्तर्गत सापकोटाले नेपाल र पोर्चुगलका असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर ‘परोपकारी रात्रिभोज कार्यक्रम’ सञ्चालन गरेका छन् । वार्षिक कार्यक्रमका रूपमा सञ्चालन हुने रात्रिभोजमा नेपाली खाना र परिकारका साथै नेपाली संस्कृति तथा नेपालको प्राकृतिक सौन्दर्य झल्किने दृश्य प्रस्तुत गरिनेछ । यस्तै नेपाली कलाकारद्वारा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि दिइनेछ ।

‘पोर्चुगिज’ समुदायलाई नेपाली संस्कृति, परम्परा, नेपाली खाना र परिकारका साथै नेपालको प्राकृतिक सौन्दर्यसँग परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपालसम्मको यात्रा’ अभियान सञ्चालन गरिएको सापकोटाले बताए । कार्यक्रममा नेपाली खाना र परिकारसँगै सांस्कृतिक प्रस्तुति, संगीत, नृत्य तथा नेपालको दृश्य–प्रदर्शनी समावेश गरिएको उनले बताए । सापकोटाका अनुसार नेपाली परिकार, स्वाद, नृत्य, संगीत र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरी सहभागीलाई नेपाल भ्रमणको अनुभूति दिलाउने प्रयास गरिएको हो । 

पोर्चुगिज समुदायलाई ‘हिमालयको देश’ नेपालको प्रकृति, संस्कृति र परिकारलाई नजिकबाट चिनाउने ‘सांस्कृतिक यात्रा’का रूपमा ‘नेपालसम्मको यात्रा’ अभियान सञ्चालन गरिएको सापकोटाले बताए । रात्रिभोज (च्यारिटी डिनर) मेनुमा नेपाली खानाका परिकार र स्वाद समेटिएको छ । जसमा दालभात, गुन्द्रुक, तरकारी समोसा, मःम, कुखुराको विशेष परिकार, तामा र बोडीको तरकारी, खसीको मासु तथा परम्परागत नेपाली खानाका परिकार समावेश गरिएको छ । यस्तै, जन्मभूमि बागलुङका साथै नेपालबाट ल्याइएका सामग्री र पोर्चुगलको सामग्रीको संयोजन गरेर खानाका परिकार तयार गरिएको छ । 

अभियानअन्तर्गत सहभागीले नेपाली खानासँगै नेपालको मौलिक संस्कृति र आतिथ्यताको अनुभव लिनेछन् । रात्रिभोज कार्यक्रममा पोर्चुगलका विभिन्न सरकारी निकायका उच्च अधिकारीहरू, पोर्चुगिज व्यवसायी तथा स्थानीय सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको उनले बताए । रात्रिभोजमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल पनि सहभागी भएका थिए । नेपाली खाना, परिकार र संस्कृतिलाई पोर्चुगिज समुदायसम्म पुर्‍याउँदै नेपालको पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने सापकोटाको अभियान प्रशंसनीय रहेको राजदूत पौडेलले बताए । सामाजिक सेवासँग जोडिएका यस्ता अभियानले पोर्चुगिज समुदायमाझ नेपाल र नेपालीको सकारात्मक छवि उजागर गरेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नेपाली संस्कृति, खाना र परिकार तथा नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

सो अवसरमा सांस्कृतिक भेषभूषामा सजिएका नेपाली कलाकार दुर्गा थापा, अर्जुन सोनामलगायतले नेपाली संस्कृति झल्कने खालका सांस्कृतिक प्रस्तुति दिएका थिए । सापकोटाले नेपाललाई नेपाली परिकार, संस्कृति, परम्परा र पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायमा चिनाउन चाहेको बताए । “नेपाल संसारकै सुन्दर देशमध्ये एक हो । नेपालको संस्कृति, प्रकृति र खानाको आफ्नै विशेषता छ । पोर्चुगलका मानिसले पनि नेपाललाई नजिकबाट चिनुन् र सकेसम्म धेरै पोर्चुगिज पर्यटक नेपाल भित्र्याउन सकियोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो”, सापकोटाले भने ।

रात्रिभोजमा सहभागी पोर्चुगिजहरूले नेपाली परिकार, स्वाद, बनाउने शैली र त्यससँग जोडिएको संस्कृति र परम्पराबारे निकै चासोका साथ जिज्ञासा राख्ने गरेको सेफ सापकोटाले बताए । सहभागीलाई नेपाली खाना, त्यसको स्वाद, विशेषता, त्यसमा प्रयोग गरिएका सामग्री र नेपाली संस्कृतिसँग जोडिएका खानाका महत्वबारे पनि जानकारी दिने गरिएको उनले बताए । नेपाली खानासँगै नेपाली आतिथ्यता, पारिवारिक संस्कार, भेषभूषा, संगीत, नृत्य तथा नेपाली जीवनशैलीबारे जानकारी गराउँदै नेपाललाई केबल स्वादका माध्यमबाट मात्र नभई संस्कृतिको अनुभवका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको सापकोटाले बताए । 

“तीन दशकअघि अवसरको खोजीमा पोर्चुगल आएको थिए । आज यही भूमिबाट आफ्नो मातृभूमिको स्वाद, संस्कृति र पहिचान प्रस्तुत गर्न पाउनु मेरा लागि गर्वको विषय हो”, सापकोटाले भने, “यो अभियानको मुख्य उद्देश्य नेपालको सांस्कृतिक पहिचान र पर्यटनको सम्भावनालाई अन्तरराष्ट्रियस्तरमा प्रवर्धन गर्नु हो ।” एक वर्षसम्म प्रत्येक महिनाको पहिलो बुधबार सञ्चालन हुने उक्त कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम एसओएस बालग्राम नेपाल र एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगललाई ५०–४० प्रतिशत सहयोग रकम प्रदान गरिने सापकोटाले बताए ।

सन् १९९६ मा पोर्चुगल आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौं अवार्ड तथा पुरस्कारसमेत प्राप्त गरेका छन् । सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर