
अर्घाखाँची : अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएका सामग्री तथा खर्च विवरण सार्वजनिक गरिएको थियो । भूमिकास्थान नगरपालिकाको २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ अनुदान तथा सहकारीको २ लाख ८९ हजार ३ सय ६० रुपैयाँ लगानी गरी कुल ५ लाख ८८ हजार ७ सय २० रुपैयाँ बराबरका सामग्री वितरण गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रम अन्तर्गत ४ फ्रेम सहितका ४७ गोला रानुसहितका मौरी घार, सुपर सहितका १५ थान मौरी घार, ५० थान रानु ढोका, १०० थान मह प्याकिङ बट्टा लगायतका आवश्यक सामग्री कृषकहरूलाई वितरण गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा बोल्दै झविलाल थापाले कृषिलाई उत्पादनसँग मात्र नभई व्यवसाय र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए। उनले ढाकावाङ्ग क्षेत्र मौरीपालनका लागि उपयुक्त भएकाले कृषकहरूलाई व्यवसायिक रूपमा अगाडि बढ्न आग्रह गरे । साथै नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै अनुदानको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नगरपालिका कृषि शाखा प्रमुख युवराज आचार्यले केही कृषकहरूले अनुदानका सामग्री लिए पनि निरन्तरता नदिने प्रवृत्ति देखिएको भन्दै सचेत हुन आग्रह गरे । उनले मौरीपालनलाई केवल अनुदान प्राप्त गर्ने माध्यमका रूपमा नभई व्यवसायिक सोचका साथ अघि बढाउनुपर्ने बताए ।
सहकारीका अध्यक्ष भुवानन्द भुसालले सहकारीले कृषकको आर्थिकस्तर उकास्न विभिन्न कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले मौरी पकेट कार्यक्रमले कृषकलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।