
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै रासयनिक मलको विकल्पमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले विद्युत प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताए । उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने समेत बताए । सांसद खनालले इजरायलको उदाहरण दिँदै नेपालमा कृषि उत्पादनको ठुलो सम्भावना रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताए । उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको पनि बताए ।
नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरिन् । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।
सांसद सेन्दाङले बाँझो जमिन उपयोगमा ल्याउन सुकुम्बासी नागरिकलाई लिजमा जमीन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिइन् । विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्वासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् ।