२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उद्योग व्यापार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

Nada
२०८३ जेठ ३ गते १६:५४
Shares
उद्योग व्यापार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

काठमाडौं : नेपाल उद्योग व्यापार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन भएको छ । नेपाली कम्युनिस्ट पार्टीका सचिव विरोध खतिवडाको प्रमुख आतिथ्यतामा आइतबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन भएको हो ।

ncell

गत वैशाख अन्तिम हप्ता नवलपुरको गैंडाकोटमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले खिम नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ । महासंघ नेपाल सरकारमा दर्ता रहेको निजी क्षेत्रको नेपाल उद्योग वाणिज्य महासंघ पछिको दोस्रो संस्था हो ।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि खतिवडाले संस्था गठन वा निर्वाचनको समयमा पदाधिकारी वा सदस्य बस्न देखिने उत्साह विस्तारै सेलाउने गरेको कमजोरी महासंघमा देखिन नहुने सुझाव दिँदै समाजवादी मूल्य मान्यता अनुसारको लक्ष्य प्राप्तिका लागि काम गर्न आग्रह गरे । महासंघले आफ्ना घटक संस्थाहरूको माग पूरा गराउन दत्तचित्त हुनुपर्ने भन्दै उनले गुटबन्दी नगरीकन परिणाम निकाल्ने गरी काम गर्न सुझाव दिए ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण” भन्ने मूल नाराको लक्ष्य अनुसार महासंघलाई अगाडि बढाउने बताए । महासंघले मुख्यगरी साना तथा मझौला उद्योगी व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउँदै सम्बन्धित सरकारी निकायहरूसँग नीति निर्माण तहमा प्रभावकारी पैरवी गर्ने बताए ।

महाधिवेशनबाट निर्वाचित नेतृत्वले देशको आर्थिक समृद्धि, उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योग संरक्षण, आयात प्रतिस्थापन, निर्यात प्रवर्धन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले विशेष गरी साना तथा मझौला सहुलियतपूर्ण नीति, सहज वित्तीय पहुँच, कर प्रणाली सुधार तथा उद्योगी व्यवसायीहरूलाई वर्तमान आर्थिक चुनौतीबाट उकास्न राज्यबाट व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर पहल गरिने बताए ।

महासंघले शैक्षिक परामर्श दिने ९५ फर्ममा छापा मारेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायी फर्महरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न दबाब दिने, नभए नियम अनुसार कानुनी प्रक्रिया पूरा गरी कानुनसम्मत कारबाही गर्नुको विकल्प नभएको बताए । त्यसैगरी उनले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको म्याक्सिमम रिटेल प्राइस (एमआरपी) बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भए पनि यसको कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताए ।

नेपालको बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बिजकलाई निर्मुल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव रहेको बताए ।

एमआरपी प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योगी, व्यवसायी र सरोकारवालासँग पर्याप्त परामर्श तथा समन्वय गरी साना व्यवसायीका लागि सहजीकरण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउनुपर्ने, डिजिटल मूल्य प्रणाली तथा क्युआर बारकोड प्रणालीको विकास गरी प्रारम्भिक चरणमा सुधारमुखी र सहजीकरणयुक्त अनुगमन नीति लिनुपर्ने, पर्यटन उद्योगमा सेवा, सुविधा र आतिथ्यता समेत जोडिने हुनाले त्यस क्षेत्रमा एमआरपी प्रणालीका विद्यमान प्रावधान अव्यवहारिक रहेको बताए ।

पदस्थापन कार्यक्रममा संस्थापक अध्यक्ष श्याम पाठक, निवर्तमान अध्यक्ष खिमलाल भण्डारी, पूर्व अध्यक्ष मदनकुमार आचार्य, वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले शुभकामना व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले स्वागत मन्तव्य र निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष रामप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेको कार्यक्रम विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त, बाणिज्य उपाध्यक्षमा लोकजंग लामा, एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, खुल्ला उपाध्यक्षमा उपेन्द्र चौधरी, रामसुन्दर विके, प्रकाश पाण्डे, जनकराज पराजुली, महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की, उपमहासचिवमा कुमार थापा, सचिवमा डा. केदारनाथ अधिकारी सहित चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी निर्वाचित भए । महाधिवेशनले सहकोषाध्यक्षमा नेत्र प्रसाद आचार्य सहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.का सञ्चालक युवा वैदेशिक रोजगार व्यवसायी डा. अधिकारी नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चमा लामो समयदेखि सक्रिय रहेका व्यवसायी हुन् ।

नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान गरी निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने सचिव अधिकारीले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर