२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पूर्ण खोप सुनिश्चितता घोषणासँगै स्वास्थ्य क्षेत्रमा सन्धिखर्कको ऐतिहासिक फड्को

Nada
सूर्यप्रसाद भुसाल
२०८३ जेठ ४ गते २१:०६
Shares
पूर्ण खोप सुनिश्चितता घोषणासँगै स्वास्थ्य क्षेत्रमा सन्धिखर्कको ऐतिहासिक फड्को

अर्घाखाँची : सन्धिखर्क नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ । बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित नगरपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

ncell

स्थानीय सरकारको सक्रियता, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा महिला स्वास्थ्य स्वयंसेविकाको समर्पणका कारण सन्धिखर्कले जिल्लामै उदाहरणीय सफलता हासिल गरेको बताइएको छ । नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक जिवनारायण कोइरालाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै कोइरालाले पूर्ण खोप अभियानले बालबालिकालाई विभिन्न घातक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको दिगोपनालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली ले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्यसहित निरन्तर रूपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

उनले स्वास्थ्य संस्था, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकबीचको प्रभावकारी समन्वयकै कारण पूर्ण खोप सुनिश्चितता घोषणा सम्भव भएको उल्लेख गरे ।

‘बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको पहिलो दायित्व हो,’ उनले भने, ‘खोपबाट बच्न सकिने रोगको नियन्त्रणमा यो अभियान प्रभावकारी बनेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले पूर्ण खोप सुनिश्चितता केवल घोषणा मात्र नभई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए । नियमित अनुगमन, प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन तथा समुदायस्तरमै स्वास्थ्य चेतना विस्तार गर्न नगरपालिका निरन्तर सक्रिय रहने उनले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यले खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिका अतुलनीय रहेको बताइन् । गाउँ–गाउँमा पुगेर अभिभावकलाई खोपको महत्व बुझाउने, खोप छुटेका बालबालिकाको तथ्यांक संकलन गर्ने तथा स्वास्थ्य सचेतना फैलाउने कार्य स्वयंसेविकाहरूले निःशुल्क रूपमा गर्दै आएको उनले बताइन् ।

स्थानीय तह गठनपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै सन्धिखर्क नगरपालिकाले दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विद्यालय स्वास्थ्य शिक्षा, किशोरी स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा पोषण सुधार अभियानलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले स्वस्थ नागरिक निर्माणको आधार नै स्वस्थ बालबालिका भएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा हासिल भएको ऐतिहासिक उपलब्धि भएको बताए ।

‘खोप अभियानलाई निरन्तर प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने हाम्रो लक्ष्य हो,’ उनले भने ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियारका अनुसार आगामी दिनमा पनि खोप अभियानलाई थप प्रभावकारी, पहुँचयोग्य र दिगो बनाउँदै लगिनेछ ।

स्थानीयवासीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा केवल औपचारिक कार्यक्रम नभइ सन्धिखर्क नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको महत्वपूर्ण उपलब्धि र स्वस्थ भविष्य निर्माणतर्फको सशक्त प्रतिबद्धता भएको बताएका छन् ।

सम्बन्धित खबर