२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने

Nada
२०८३ जेठ ५ गते १८:४०
Shares
भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

ncell

कृषि, वन तथा वातावरण मन्त्रालयलको मल खरिद मामिला हेर्ने कृषि विकास महाशाखा प्रमुख डा.रामकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा भएको अवरोधका कारण आयात हुन नसकेको जानकारी दिए । यद्यपि यही जेठदेखि भदौसम्मको धान रोपाइँ सिजनमा मलको अभाव नहुने मन्त्रालयको आकलन रहेको उनको भनाइ छ ।

उनकाअनुसार  नेपालमा धान सिजनको पाँच महिनामै वार्षिक कुल मलको ४५ प्रतिशत मल खपत हुने गरेको छ । धान रोपाइँको सिजनमा करिब २ लाख ४५ हजार टन मल आवश्यक पर्ने अनुमान गरिएको उनको भनाइ छ ।

उनले हाल मौज्दातमा रहेको मलले धान रोपाइँ सिजनसम्म धान्नसक्ने बताए । उनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ लाख ५० हजार टन रासायनिक मल खरिद प्रक्रिया अघि बढिसकेको समेत जानकारी दिए ।

उनले अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएपछि टेन्डर आह्वान गरिएकोमा १ लाख ८७ हजार टन मल आपूर्तिको सम्झौता भइसकेको जानकारी दिए । महाशाखा प्रमुख श्रेष्ठले विश्व बजारमै रासायनिक मलको उत्पादन र उपलब्धता घट्दा मूल्य समेत बढेको बताए । उनले रासायनिक मलको आपूर्ति प्रभावित भएपनि सम्झौता गरिएका सप्लायरहरूसँग वैकल्पिक ढुवानी तथा आपूर्ति व्यवस्थाबारे छलफल भइरहेको बताए ।

उनले खरिदका लागि टेण्डर भएपछि नेपालमा मल आइपुग्न औसतमा दुई सय २५ दिनसम्म लाग्ने गरेको कारण साउनमा बजेट स्वीकृत भएपछि मल किन्दा माघ फागुनतिर नेपाल आइपुग्ने अवस्था रहेको समेत बताए ।

उनले सम्झौता गरिएको मल भदौसम्म पनि आयात हुन नसके नेपालको लागि चिन्ताको विषय बन्नसक्ने बताए । उनले रासायनिक मलको अभाव हुन नदिन भारतसँग समेत छलफल भइरहेको बताए ।

कृषि गणना २०७८ अनुसार नेपालमा धान लगाउने कृषक परिवारमध्ये ७६ प्रतिशतले धानबालीमा रासायनिक मलको प्रयोग गरेका छन् । जसकारण रोपाइँको समयमा वर्षेनी नेपालमा रासायनिक मलको अभाव हुने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर