२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विष्णुमती करिडोरमा १० फिटे फुटपाथ निर्माण गरिने

Nada
२०८३ जेठ ६ गते १५:४६
Shares
विष्णुमती करिडोरमा १० फिटे फुटपाथ निर्माण गरिने

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका–९ स्थित विष्णुमती करिडोर क्षेत्रमा १० फिटे फुटपाथ निर्माणका लागि वडा कार्यालयले १५ दिने अति जरुरी सूचना जारी गरेको छ ।

ncell

वडाअध्यक्ष रामभक्त घिमिरेले जारी गरेको सूचनाअनुसार टोखा नगर कार्यपालिका बैठकको निर्णय, वडा कार्यसमितिको निर्णय तथा स्वीकृत कार्ययोजना बमोजिम विष्णुमती करिडोर क्षेत्रमा व्यवस्थित, सुरक्षित र अतिक्रमणमुक्त पैदलमार्ग निर्माण गर्न लागिएको हो । 

वडा कार्यालयले १० फिट फुटपाथ क्षेत्रभित्र निर्माण गरिएका अस्थायी संरचना, टहरा, भत्केका पर्खाल तथा राखिएका निर्माण सामग्री तत्काल हटाएर क्षेत्र खाली गर्न अनुरोध गरेको छ । साथै सडक किनार र फुटपाथ क्षेत्रमा फुटपाथ व्यवसाय सञ्चालन गर्ने वा पसलका सामान राख्ने कार्य पूर्ण रूपमा निषेध गरिएको जनाएको छ ।

वडाअध्यक्ष घिमिरेका अनुसार जेठ २० गतेभित्र सम्बन्धित सबैले फुटपाथ निर्माणका लागि आवश्यक क्षेत्र खाली गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र संरचना वा सामग्री नहटाइए नगर प्रहरी तथा प्राविधिक टोलीले हटाउने चेतावनी पनि दिइएको छ ।

सूचनामा संरचना हटाउने क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित घरधनी वा व्यक्तिमै रहने उल्लेख गरिएको छ । साथै टहरा वा कम्पाउण्ड हटाउँदा लाग्ने खर्चसमेत प्रचलित कानुनअनुसार सम्बन्धित पक्षबाट असुलउपर गरिने वडा कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर