
काठमाडौं : नर्वेको सबैभन्दा ठुलो र प्रभावशाली मानिने पत्रिका 'आफ्टेनपोस्टेन'ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक विवादास्पद कार्टुन प्रकाशित गरेपछि भारतमा यसको व्यापक आलोचना भइरहेको छ । प्रधानमन्त्री मोदीको नर्वे भ्रमणको सन्दर्भमा प्रकाशित उक्त कार्टुनमा उनलाई एक 'सपेरो' को रूपमा देखाइएको छ, जसमा पेट्रोल पम्पको पाइपलाई सर्पको रूपमा प्रस्तुत गरिएको छ ।
यो कार्टुन 'एक चलाख र केही हदसम्म झर्को लाग्दो मानिस' शीर्षकको ओपिनियन लेखसँगै छापिएको थियो । यस चित्रणलाई सामाजिक सञ्जालमा धेरैले 'नश्लवादी' र 'औपनिवेशिक मानसिकता' को अवशेषको रूपमा व्याख्या गरेका छन् ।
वरिष्ठ पत्रकार आदित्य राज कौलले यसलाई अपमानजनक भन्दै लेखेका छन्, "नर्वेको सबैभन्दा ठुलो पत्रिकाले भारतको प्रधानमन्त्रीलाई सपेराको रूपमा देखाउनु स्तब्धकारी छ। उनीहरू भारतको प्रगति र सफलतालाई पचाउन सकिरहेका छैनन् ।" त्यस्तै, पत्रकार अनन्त कृष्णनले यसलाई 'सस्तो पत्रकारिता' को नमुना भन्दै उच्च पत्रकारिताको मानक मानिने पत्रिकाका लागि यो सुहाउने कुरा नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरूले प्रधानमन्त्री मोदी आफैंले विगतमा विश्वले भारतलाई 'सपेरोको देश' को रूपमा हेर्ने गरेको तर अब त्यो छवि बदलिएको बताउने गरेको उल्लेख गरेका छन् । तर उनको ओस्लो भ्रमणकै बेला एउटा प्रमुख युरोपेली पत्रिकाले पुनः त्यही पुरानो छविमा प्रस्तुत गर्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरिएको छ ।
फ्रांक रोजेभिकद्वारा लिखित उक्त लेखमा मोदीको विदेश नीतिलाई 'रियलपलिटिक' (व्यावहारिक राजनीति) भनिएको छ । लेखकका अनुसार मोदीले विचारधाराभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिने गर्छन् र उनी एकैसाथ भिन्न विचार भएका देशहरूसँग सम्बन्ध राख्न चाहन्छन् ।
लेखमा भारतलाई एक उदीयमान विश्वशक्तिको रूपमा प्रस्तुत गर्दै व्यापार, प्रविधि र ऊर्जा क्षेत्रमा नर्डिक देशहरू (नर्वे, स्विडेन, डेनमार्क, फिनल्यान्ड र आइसल्यान्ड) सँगको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख छ । यद्यपि, लेखमा भारतमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको अवस्थाप्रति पश्चिमी देशहरूको आलोचनात्मक दृष्टिकोणलाई पनि स्थान दिइएको छ ।
प्रधानमन्त्री मोदीको यो भ्रमण पहिले नै एक अर्को घटनाका कारण चर्चामा थियो । नर्वेकी पत्रकार हेला लेङले मोदीलाई प्रेस स्वतन्त्रताका बारेमा प्रश्न सोध्न खोज्दा उनले जवाफ नदिई अघि बढेका थिए । लेङले पछि सामाजिक सञ्जालमा लेखेकी थिइन्, "मैले जवाफको अपेक्षा गरेकी थिइनँ । नर्वे प्रेस स्वतन्त्रतामा पहिलो स्थानमा छ भने भारत १५७औं स्थानमा छ ।"
यो घटनालाई लिएर भारतमा सत्तापक्ष र विपक्षी दलहरूबीच पनि वाकयुद्ध चलेको थियो । विपक्षी नेताहरूले प्रधानमन्त्री प्रश्नबाट डराएको आरोप लगाएका थिए भने भाजपाका नेताहरूले पत्रकारको प्रश्नलाई आधारहीन बताएका थिए ।
यो पछिल्लो कार्टुन विवादले पश्चिमी मिडियामा भारत र यसका नेताहरूलाई चित्रण गर्ने तरिका र बढ्दो 'नश्लवाद' को बहसलाई पुनः सतहमा ल्याइदिएको छ ।