
अर्घाखाँची : नेपाल निर्माण व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् । सरकारले कानुनअनुसार मूल्य समायोजन सुविधा नदिएको, निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएको तथा विभिन्न किसिमका मानसिक दबाब सिर्जना गरिएको भन्दै उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताएका हुन् ।
अध्यक्ष भुसालका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा भएको मूल्य समायोजनसम्बन्धी प्रावधान हटाएर सम्झौता गर्ने गरेका कारण निर्माण व्यवसायी थप समस्यामा परेका छन् । कानुनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन नगर्नु दुःखद भएको उनले बताए ।
उनले वर्तमान अवस्थामा निर्माण व्यवसायीहरूले काम गर्ने अवस्था नरहेको दाबी गरे । “अहिले काम गरियो भने घाटा मात्रै होइन, घरखेत नै गुम्ने अवस्था छ, नगरे राज्यबाट मानसिक दबाब आउने गरेको छ,” भुसालले भने । उनका अनुसार धेरै व्यवसायीहरूले काम सम्पन्न गरे पनि हालसम्म भुक्तानी पाउन सकेका छैनन् ।
भुसालले कार्यालय प्रमुखदेखि आयोजना इन्जिनियरसम्मले निर्माण व्यवसायीलाई काम गर्न दबाब दिने गरेको आरोप लगाए । काम नगरे कालोसूचीमा राख्ने, कारबाही गर्ने तथा बैंक ग्यारेन्टी जफत गरिदिने चेतावनीका कारण साना, मझौला तथा ठूला व्यवसायी मानसिक तनावमा परेको उनको भनाइ छ ।
उनले निर्माण व्यवसायीहरूले ‘कन्स्ट्रक्सन हलिडे’ नमागेको स्पष्ट पार्दै काम गर्न नसक्ने अवस्था सिर्जना भएकाले निर्माण क्षेत्र ठप्प हुने जोखिम बढेको बताए ।
जिल्ला महासंघले प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख तथा विभिन्न कार्यालय प्रमुखसँग छलफल गरे पनि कुनै ठोस निष्कर्ष ननिस्किएको भुसालको दाबी छ ।
निर्माण क्षेत्र देशको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै उनले अर्घाखाँचीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं श्रमिकले यस क्षेत्रबाट रोजगारी पाइरहेको बताए । “निर्माण व्यवसायीहरू पनि यही राज्यका नागरिक हुन् । विकास निर्माणको जिम्मेवारी उनीहरूले नै निर्वाह गरिरहेका छन्, त्यसैले सरकारले हेर्ने दृष्टिकोण बदल्न जरुरी छ,” उनले भने ।