२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन हुँदै

Nada
भरत प्रधान
२०८३ जेठ ८ गते १६:३८
Shares
पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन हुँदै

लिस्बन : पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलका विभिन्न सहरमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

ncell

दूतावासले कोइम्ब्रा, मदेइरा र एजोरेसमा दुईदिने राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । दूतावासका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा शनिबार र आइतबार अर्थात् यही मे २३ र २४ तारिखमा शिविर सञ्चालन हुनेछ । मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन हुने बताइएको छ ।

राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीहरुलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप घुम्ती सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गर्ने छ । साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । 

राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूलाई घुम्ती शिविरमार्फत सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप पोर्चुगलका विभिन्न स्थानमा शिविर सञ्चालन गर्न लागिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले बताए । दूतावास धाउन टाढा भएकै कारण राजधानी बाहिर रहेका नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले घुम्ती सेवामार्फत सेवा दिन लागिएको नेपालले बताए । 

शिविरका अवसरमा सो क्षेत्रका नेपाली समुदायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत आयोजना गरिएको दूतावासले जनाएको छ। विद्युतीय राहदानीका लागि अनलाइन अपोइन्टमेन्ट लिन र फारम भर्न सेवाग्राहीलाई दूतावासले आग्रहसमेत गरेको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर