
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट अमेरिका भ्रमणको औपचारिक निम्तो दिइएको छ । भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग प्रधानमन्त्री मोदीको भेटवार्ता सकारात्मक र महत्त्वपूर्ण भएको बताएका हुन् ।
उनका अनुसार भेटका क्रममा सुरक्षा, व्यापार तथा महत्त्वपूर्ण प्रविधिजस्ता क्षेत्रमा भारत–अमेरिका सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । उनले भारतलाई अमेरिकाको महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेका छन् ।
सर्जियो गोरले अर्को पोस्टमा अमेरिकी विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणका लागि आधिकारिक निमन्त्रणा दिएको जानकारी पनि दिएका छन् । यसैबीच प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
भेटवार्तामा भारत–अमेरिका रणनीतिक साझेदारी, विश्वव्यापी शान्ति र सुरक्षासँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो। मोदीले विश्वव्यापी हितका लागि भारत र अमेरिका मिलेर काम गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।