२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

आयुर्वेद स्वास्थ्य शिविरबाट १६५ नागरिक लाभान्वित

Nada
सूर्यप्रसाद भुसाल
२०८३ जेठ ९ गते २०:४३
Shares
आयुर्वेद स्वास्थ्य शिविरबाट १६५ नागरिक लाभान्वित

अर्घाखाँची : अर्घाखाँचीको धरमपानीमा शनिबार बिहानैदेखि स्थानीय नागरिकको चहलपहलले भरिएको थियो । गाउँका वृद्धवृद्धादेखि युवा र महिलासम्म स्वास्थ्य जाँच गराउन उत्साहका साथ शिविरस्थल पुगेका कारण दिनभर त्यहाँ विशेष रौनक देखिएको थियो । सामान्य उपचारका लागि समेत अस्पताल धाउनुपर्ने बाध्यता खेपिरहेका स्थानीयका लागि गाउँमै विशेषज्ञ सेवा पुगेपछि स्थानीयवासी निकै खुसी भएका थिए । 

ncell

सन्धिखर्क नगरपालिका र डिभर्ना आयुर्वेद औषधालय को आयोजनामा सम्पन्न एकदिने वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरले गाउँलेलाई स्वास्थ्य सेवासँगै नयाँ आशा र भरोसा दिएको स्थानीयवासी नेत्रप्रसाद मरासिनीले बताए ।

डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजंग जनैदारका अनुसार शिविरमा विभिन्न रोगबाट पीडित १६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा वातजन्य रोग, नसासम्बन्धी समस्या, छाला रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा तथा मुखसम्बन्धी रोग, पिसाबसम्बन्धी समस्या, पाइल्स, फिस्टुला, फिसर, जन्डिस, मधुमेह, उच्च रक्तचाप, बालरोग तथा महिलामा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण तथा परामर्श गरिएको थियो । उपचारसँगै आवश्यक आयुर्वेदिक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

विशेषगरी जेष्ठ नागरिक शिविरबाट बढी लाभान्वित भएका थिए । सामान्य स्वास्थ्य परीक्षणका लागि सदरमुकाम धाउनुपर्ने अवस्था अन्त्य गर्दै गाउँमै सेवा पाएपछि स्थानीयवासी खुसी भएका हुन् । कतिपय नागरिकले आयुर्वेदिक विशेषज्ञ चिकित्सकसँग परामर्श गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । उनले मानिस जीवनभर सम्पत्ति कमाउन दौडिरहे पनि स्वास्थ्य कमजोर भए सबै निरर्थक हुने उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।

‘स्वस्थ शरीर बिना सुखी जीवन सम्भव हुँदैन । त्यसैले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्छ । आयुर्वेदिक उपचार पद्धति केवल रोग निको पार्ने माध्यम मात्र होइन, यो स्वस्थ र अनुशासित जीवन जिउने आधार पनि हो,’नगरप्रमुख श्रेष्ठले भने ।

श्रेष्ठले पछिल्लो समय अस्वस्थ खानपान, अव्यवस्थित जीवनशैली र तनावका कारण विभिन्न रोग बढ्दै गएको उल्लेख गर्दै आयुर्वेदिक चिकित्सा प्रणालीको महत्व झन् बढ्दै गएको बताए । प्राकृतिक जडीबुटी, सन्तुलित आहार, योग र नियमित जीवनशैलीले शरीरलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न सहयोग पुग्ने उनको भनाइ थियो ।

नगरप्रमुख श्रेष्ठले आगामी दिनमा नगरपालिकाले आयुर्वेद सेवालाई अझ प्रभावकारी बनाउँदै सबै वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले गाउँगाउँमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्नु नै स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरी ले ग्रामीण क्षेत्रमा यस्ता शिविर अत्यन्त आवश्यक रहेको धारणा राखे । उनले आर्थिक अवस्था कमजोर भएका नागरिकले समयमै उपचार नपाउँदा रोग जटिल बन्ने समस्या रहेको उल्लेख गर्दै गाउँमै विशेषज्ञ सेवा पुग्दा नागरिकलाई ठूलो राहत मिलेको बताए ।

शिविरमा आयुर्वेद चिकित्सक डा. अनिता भुसाल, औषधालय प्रमुख तिलकजंग जनैदारलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । चिकित्सकहरूका अनुसार शिविरमा अधिकांश बिरामीमा सुगर, प्रेसर, जोर्नी दुखाइ, नसासम्बन्धी समस्या तथा छाला रोग बढी देखिएको थियो ।

पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास र आकर्षण बढ्दै गएको छ । शरीरमा कम साइड इफेक्ट हुने, रोगको जडसम्म पुगेर उपचार गर्ने र प्राकृतिक जीवनशैलीसँग जोडिने भएकाले आयुर्वेदिक औषधि तथा उपचार पद्धति प्रभावकारी मानिन्छ ।

धरमपानीमा सम्पन्न यो शिविरले केवल स्वास्थ्य सेवा मात्र दिएन, नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत बन्ने सन्देश पनि दिएको छ । गाउँमै सहज रूपमा उपचार सेवा उपलब्ध गराउने यस्ता कार्यक्रम अन्य वडाका लागि समेत प्रेरणादायी बनेका छन् । स्थानीयवासीले यस्ता शिविरलाई निरन्तर सञ्चालन गर्नुपर्ने माग गर्दै आयुर्वेदिक सेवाको पहुँच अझ विस्तार गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर