
काठमाडौं : गरिमा क्यापिटल र सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएमएल नेपालको संयुक्त आयोजनामा गरिमा क्यापिटलका कर्मचारीहरूका लागि अभिमुखीकरण तथा प्रशिक्षण दिएको छ ।
पुँजीबजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षणमा मुख्यतः नेपालको प्रचलित सम्पत्ति शुद्घीकरण निवारण ऐन, २०६४, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नवीनतम निर्देशिका, शंकास्पद कारोबार पहिचान गर्ने तरिका र संस्थागत सुशासनका विविध पक्षमा केन्द्रित रही प्रशिक्षण दिइएको थियो ।
एएमएल नेपालका वरिष्ठ अनुपालन विज्ञहरूले उक्त ऐनका कानुनी व्यवस्था, ग्राहक पहिचानसम्बन्धी नियम र ऐन उल्लंघन गर्दा हुने कानुनी कारबाहीका प्रावधानसहित वास्तविक घटना र प्रयोगात्मक अभ्यासको माध्यमबाट सहभागी कर्मचारीलाई वित्तीय अपराध नियन्त्रणका व्यावहारिक उपायबारे प्रस्ट पारेका थिए ।