
काठमाडौं : ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’का आयोजकहरूले दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकको सहभागिता रहनेछ ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पुर्याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ । जेठ १५ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफल समावेश गरिएका छन् । यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जिन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङलगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वको सहभागिता रहनेछ ।
हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटस २०२६का आयोजक युयुत्सु शर्माले भने, ‘साहित्य विलासिता होइन । यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो । यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो । यस महोत्सवले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्दछ ।’
‘हिमालयन लिटरेचर फेस्टिभलसँगको सहकार्यमार्फत नेपालका समृद्ध साहित्यिक संस्कृतिको उत्सव मनाउँदै स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्छौं,’ कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् । महोत्सवअन्तर्गत कवितामा आधारित आइरिस, अस्ट्रियन, पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बूढानीलकण्ठ तथा नगरकोटजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदास्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ, जसले सहभागीलाई नेपालको कलात्मक, आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोड्नेछ ।