२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा, ८२ नेपाली लाभान्वित

झन्डै १२ लाख राजस्व संकलन

Nada
भरत प्रधान
२०८३ जेठ १२ गते २१:०९
Shares
पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा, ८२ नेपाली लाभान्वित

लिस्बन : लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ ।

ncell

दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी 'कन्सुलर' सेवा प्रदान गरेको हो ।

घुम्ती शिविरबाट कुल ८२ जना सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । जसमा ४० जना नेपालीको विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । यस्तै ९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, ३१ जनाको शैक्षिक तथा अन्य कागजात प्रमाणीकरण र दुई जनाको राहदानी वितरण गरिएको नेपालले बताए । शिविरबाट ६ हजार ७ सय ४५ युरो अर्थात् झन्डै १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीहरूलाई सोही स्थानमै पुगेर सहज रूपमा दूतावासको सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप घुम्ती सेवा सञ्चालन गरिएको नेपालले बताए । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको थियो । यस्तै तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।

दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई सेवा प्रदान गर्ने जनाएको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर