२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

देशभर विद्युत् पहुँच करिब शतप्रतिशत नजिक, जडित क्षमता ४ हजार मेगावाट नाघ्यो

Nada
२०८३ जेठ १३ गते १४:५६
Shares
देशभर विद्युत् पहुँच करिब शतप्रतिशत नजिक, जडित क्षमता ४ हजार मेगावाट नाघ्यो

काठमाडौँ । नेपालमा विद्युत् पहुँच करिब शतप्रतिशत नजिक पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको कुल जनसंख्याको ९९.१ प्रतिशतमा विद्युत् सेवा विस्तार भइसकेको छ ।

ncell

सर्वेक्षणले उपलब्ध गराएको तथ्यांकअनुसार हाल देशको कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ । ऊर्जा उत्पादन तथा विस्तारसँगै नेपालले यस वर्ष भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा बिजुली निर्यात गरेको पनि उल्लेख छ, जुन फागुन २०८२ सम्मको विवरण हो ।

ऊर्जा उत्पादनको संरचना
जडित क्षमताको संरचनामा जलविद्युत् प्रमुख स्रोतका रूपमा रहेको छ, जसको क्षमता ३ हजार ७९८ मेगावाट पुगेको छ । त्यसपछि सौर्य ऊर्जाबाट १४२ मेगावाट उत्पादन भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १०६.२४ मेगावाट विद्युत् उत्पादन भएको देखिन्छ ।

त्यसैगरी तापीय ऊर्जा (थर्मल प्लान्ट) बाट ५३.४ मेगावाट र चिनी उद्योगबाट सहउत्पादन प्रणालीमार्फत करिब ६ मेगावाट विद्युत् उत्पादन भइरहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय ग्रिड विस्तार
फागुन २०८२ सम्मको अवस्थाअनुसार नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका आयोजनाबाट ६६१.५७ मेगावाट, सहायक कम्पनीहरूबाट ७४८.४ मेगावाट र निजी क्षेत्रबाट २ हजार ५८७ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ । यसअनुसार कुल ग्रिड-जडित क्षमता ३ हजार ९९७ मेगावाट पुगेको छ ।

ग्राहक संख्या र प्रसारण संरचना विस्तार
विद्युत् उपभोक्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । २०८२ असारसम्म ५७ लाख ८ हजार रहेका ग्राहक संख्या फागुनसम्म बढेर ५८ लाख ५९ हजार पुगेको छ ।

प्रसारण पूर्वाधारतर्फ ६६ केभी र सोभन्दा माथिको राष्ट्रिय प्रसारण लाइन ७ हजार १६१ सर्किट किलोमिटरबाट बढेर ७ हजार २८० सर्किट किलोमिटर पुगेको छ। ३३ केभी प्रसारण लाइन विस्तार भई ८ हजार २२५ सर्किट किलोमिटर पुगेको छ ।

त्यस्तै ४००/२३० भोल्ट वितरण लाइन १ लाख ५६ हजार ७९० सर्किट किलोमिटरबाट बढेर १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको सर्वेक्षणले देखाएको छ ।

भविष्यको उत्पादन क्षमता विस्तार
विभिन्न आयोजना सम्पन्न हुने क्रममा रहेकाले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म थप ६६६ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यससँगै देशको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार ६२६ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर