
काठमाडौं : एनसेलले प्रतिष्ठित आइएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले कम्पनीको सधैं उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको एनसेलले जनाएको छ ।
आइएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आइएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले संघ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।
“आइएसओ २७००१:२०२२ (आइएसएमएस) र आइएसओ २७७०१:२०१९ (पिआइएमएस) डाटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब आइएसओ ९००१ र आइएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
एनसेलले पुस २०८१ मा आइएसओ २७००१:२०२२ (आइएसएमएस) र आइएसओ २७७०१:२०१९ (पिआइएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।
यी दुई प्रमाणीकरणहरुले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गरेको एनसेलले जनाएको छ ।
यी प्रमाणीकरणहरुको सदुपयोग गर्दै विश्वस्तरीय डिजिटल सेवाहरू उपलब्ध गराउन र पर्यावरणीय संरक्षणलाई पनि प्रवर्धन गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।