२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रसुवाको फलाखु खोलामा ७.२९ मेगावाटको जलविद्युत् आयोजना बन्ने, एनआइसी एसिया बैंकसँग सम्झौता

Nada
२०८३ जेठ १३ गते २२:०५
Shares
रसुवाको फलाखु खोलामा ७.२९ मेगावाटको जलविद्युत् आयोजना बन्ने, एनआइसी एसिया बैंकसँग सम्झौता

काठमाडौं : १ अर्ब ४७ करोडको लागतमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित फलाखु खोलामा ७.२९ मेगावाटको जलविद्युत् आयोजना बन्ने भएको छ । जलविद्युत् आयोजनाका लागि एनआइसी एसिया बैंकको ऋणको वित्तीय सुनिश्चितता समेत भएको छ ।

ncell

रसुवा हाइड्रोपावरका तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष दीपक थापा र एनआइसी एसिया बैंकका तर्फबाट कार्यकारी प्रमुख सुजित शाक्यले ऋण सम्झौतामा हस्ताक्षर गरेर आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित गरेका हुन् । कुल लागतको ६४.७६ प्रतिशतले हुने ९५ करोड २० लाख आयोजना ऋणमार्फत व्यवस्थापन गरिनेछ । उक्त ऋणमध्ये एनआइसी एसिया बैंकले ९५ करोड २० करोड लगानी गर्नेछ भने बाँकी ५१ करोड ८० लाख संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयर लगानीका रूपमा जुटाइनेछ ।

यस आयोजना ५.३० घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्नेगरी डिजाइन गरिएको छ भने यसको ग्रस हेड १८१.९८ मिटर रहेको छ । आयोजनाबाट वार्षिक ३८.७४ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत्मध्ये १६.८५ प्रतिशत सुक्खायाममा तथा ८३.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजनाको पहिलो वर्षको अनुमानित आम्दानी करिब २० करोड ९४ लाख रहनेछ ।

साथै, विद्युत् खरिद बिक्री सम्झौताअनुसार ५ मेगावाटलाई ५ पटक र २.७९ मेगावाटलाई ८ पटकसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था रहेको छ । उत्पादित विद्युत् १० किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको त्रिशूली ३बी हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिने आयोजनाले जनाएको छ । 

आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको र गत वर्षदेखि विभिन्न सिविलको हेडवक्र्सअन्तर्गतको डिस्यान्डर, इन्टेक, बाँध र एलान्मेन्ट, इन्लेट पोर्टल निर्माण कार्यसमेत सुचारु छ । आयोजनामा कुल ३४ दशमलव ३५ प्रतिशत प्रगति भएको छ ।

जलविद्युत् क्षेत्रमा अनुभव र प्रयाप्त स्रोतसाधनसहितको टिम सहकार्यसहित निर्माण कार्य अगाडि बढाइएको र आयोजनाको निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । आयोजनामा जलविद्युत् क्षेत्रमा लगानी तथा सञ्चालन अनुभव भएका उद्यमीका साथै दशकौं विभिन्न सफल व्यापारिक अनुभवी लगानीकर्ता र स्थानीयवासीको समेत लगानी रहनेछ ।

साथै, संस्थापक लगानीकर्ताबाहेक भविष्यमा सर्वसाधारणलाई समेत सेयरमा लगानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।  डेढ वर्षमा आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर