२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बिपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो, समयमै सक्न पूर्वाधर सचिवकाे निर्देशन

Nada
२०८३ जेठ १४ गते १२:५९
Shares
बिपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो, समयमै सक्न पूर्वाधर सचिवकाे निर्देशन

काठमाडौं : आठ महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । 

ncell

पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिनअघि शिलन्यास गरेको सडक पुनर्निर्माणको कामले गति लिएको हो । उक्त राजमार्ग पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ ।

गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको ३० किलोमिटर सडकखण्डमा क्षति पुर्‍याएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ ।

जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३.२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।

यस अन्तर्गत काभ्रेतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ । सडकका ५ वटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ ।

बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि ‘आरसिसी’ पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तीव्रता दिइएको छ ।

आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले बिपी राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । वि.सं. २०५३ देखि जापानकै सहयोगमा निर्माण सुरु भएको यो राजमार्ग २०७२ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । 

पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन समेत गरेका छन् । उनले  अनुगमनका क्रममा निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर