
काठमाडौं : देशको शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी आफैं असुरक्षित अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की स्वयंले नेपाल प्रहरी जीर्ण तथा असुरक्षित संरचनाबाट सेवा प्रवाह गर्न बाध्य रहेको बताएका हुन् ।
जेनजी आन्दोलनपछि प्रहरी जवानहरू पुराना बर्दी र जुत्ता लगाएर जनताको सुरक्षामा खटिनुपरेको उल्लेख गर्दै उनले यसअघि पनि प्रहरी संगठनले भोगिरहेका समस्याबारे भावुक रूपमा धारणा राखेका थिए । सोमबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले प्रहरीका भवन तथा संरचनाको दयनीय अवस्थाबारे पुनः ध्यानाकर्षण गराए ।
नेपाल प्रहरीका अनुसार देशभर दुई हजार ६०० भन्दा बढी प्रहरी इकाइ सञ्चालनमा छन् । तीमध्ये २६३ प्रहरी चौकी तथा सुरक्षा संरचना जीर्ण अवस्थामा रहेको जानकारी आइजिपी कार्कीले दिए । उनका अनुसार पर्याप्त बजेटको अभाव, पुनर्निर्माणको सुस्त गति तथा पूर्वाधार विकासमा प्राथमिकता नपर्दा प्रहरी संगठनले आधारभूत संरचनाकै समस्या झेल्दै आएको छ ।
नेपाल प्रहरीका अनुसार करिब ३० प्रतिशत प्रहरी इकाइसँग आफ्नै भवन वा जग्गा छैन । हाल ३७० इकाइ भाडाका भवनमा तथा ४२१ इकाइ अन्य संस्थाको भवन वा जग्गामा सञ्चालन भइरहेका छन् । जीर्ण भवनका कारण प्रहरीको कार्यसम्पादन मात्र नभई सेवाग्राहीको सुरक्षामा समेत असर पर्ने गरेको छ ।
‘अहिले सीमावर्ती क्षेत्र र संवेदनशील स्थानका चौकीहरू पनि भत्किन सक्ने अवस्थामा छन्,’ कार्कीले भने, ‘चौकी नै लडेर कुनै दुर्घटना होला कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ, अस्थायी संरचनाको त हिसाबै छैन ।’
उनले जीर्ण प्रहरी चौकीहरूको निर्माण तथा पुनर्निर्माण स्थानीय तहको सहकार्यमा अगाडि बढ्न सके प्रहरी कर्मचारीको कार्यक्षमता र मनोबल दुवै बढ्ने बताए । ‘प्रहरी जवानहरू दिनभर ड्युटी गरेपछि बेलुकी कम्तीमा आमनागरिकसरह मानवीय र सहज वातावरणमा बस्न पाऊन् भन्ने अपेक्षा छ,’ उनले भने ।
संवेदनशील क्षेत्रमा अहिले पनि अस्थायी संरचनाबाट प्रहरी सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि स्थायी पूर्वाधार आवश्यक रहेको बताए । ‘अस्थायी व्यवस्थाले स्थायी समाधान दिन सक्दैन । त्यसलाई व्यवस्थित गर्न बजेट आवश्यक छ । भवन निर्माणदेखि लजिस्टिक व्यवस्थापनसम्म सबै कुरा बजेटसँग जोडिएको छ,’ उनले भने ।
२०७२ सालको भूकम्प र त्यसअघिको द्वन्द्वकालमा सयौं प्रहरी संरचना ध्वस्त भएका थिए । प्रहरीको तथ्यांकअनुसार भूकम्पबाट मात्र १९६ प्रहरी भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने द्वन्द्वकालमा ७००भन्दा बढी संरचना नष्ट भएका थिए । धेरै भवन पुनर्निर्माण भए पनि केही संरचना अझै निर्माणको पर्खाइमा छन् ।
यसैबीच, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पनि प्रहरी संरचनामा ठुलो क्षति पुगेको थियो । आन्दोलनका क्रममा देशभरका ४४५ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । तीमध्ये १९७ प्रहरी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, २५८ प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको थियो । तीमध्ये अधिकांश संरचना मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयमा भएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकामा मात्रै १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
सोही क्रममा साना–ठुला गरी प्रहरीका एक हजार १०० थान हतियार लुटिएको जानकारी पनि आइजिपी कार्कीले दिए ।