
रौतहट : रौतहटको राजदेवी नगरपालिका–१ स्थित गौर–पिपरा सडकखण्डमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार गौरबाट पिपातर्फ गइरहेको बागमती प्रदेश ०१–०१५ च ७४३६ नम्बरको कारलाई सोही दिशातर्फ गइरहेको बिआर ३० एडी ७८९६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–३ निवासी २२ वर्षीय अनुराग झा कार चलाइरहेका थिए । ठक्करबाट कारको पछाडिको भागमा क्षति पुगेको छ ।
घाइते गरुडा नगरपालिका–६ निवासी करिब १८ वर्षीय रोशन मण्डलले चलाएको मोटरसाइकलले कारलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपछि रोशनको टाउकोमा गम्भीर चोट लागेको र उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चन्दन मण्डल भने सकुशल रहेका छन् ।
दुर्घटनामा संलग्न कार र मोटरसाइकल तथा कार चालकलाई प्रहरी चौकी बडहर्वाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।