२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ २६ गते १७:४०
Shares
विश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

दोहा, कतार : विश्व रक्तदाता दिवस २०२६ को अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) र नेपाली रक्तदाता संघ कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । “रक्तदान–जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त कार्यक्रम आगामी १२ जुन २०२६, शुक्रवार बिहान ८ बजेदेखि १२ बजेसम्म हमाद अस्पताल ब्लड डोनर सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

ncell

कार्यक्रममार्फत कतारमा रहेका नेपाली समुदायलाई मानवीय सेवामा सहभागी गराउँदै रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूको जीवन बचाउन सहयोग पुर्‍याउने उद्देश्य राखिएको रक्तदाता संघ कतारका का.वा.अध्यक्ष छविलाल भट्टराईले बताए । उनले प्रत्येक स्वस्थ व्यक्तिले गरेको रक्तदानले दुर्घटनामा परेका, शल्यक्रिया गराइरहेका, क्यान्सर तथा अन्य जटिल रोगबाट पीडित बिरामीहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

नियमित रक्तदानले शरीरमा आइरनको मात्रा सन्तुलित राख्न सहयोग गर्ने, मुटुसम्बन्धी जोखिम कम गर्न मद्दत पुग्ने तथा स्वास्थ्य परीक्षण मार्फत रक्तचाप, हेमोग्लोबिन लगायत आधारभूत स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने फाइदा पनि रहेको एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिए । रक्तदानले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्न समेत सहयोग पुर्‍याउने बताए ।

रक्तदान गर्न चाहने व्यक्तिले केही महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । रक्तदान गर्नुअघि पर्याप्त आराम गर्नुपर्ने, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्नुपर्ने र पौष्टिक खाना खानुपर्ने चिकित्सकहरू बताउँछन् । रक्तदानको दिन अत्यधिक बोसोयुक्त खाना, मदिरा तथा धूम्रपानबाट टाढा रहनु पर्दछ ।

विश्व रक्तदाता दिवस हरेक वर्ष जुन १४ मा विश्वभर मनाइन्छ । सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्नुका साथै स्वैच्छिक रक्तदाताहरूको योगदानको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ । सोही अवसरलाई लक्षित गरी कतारमा आयोजना हुन लागेको यस बृहत् रक्तदान कार्यक्रममा सहभागी भई मानव जीवन बचाउने पुण्य कार्यमा योगदान गर्न सम्पूर्ण नेपाली समुदायलाई आयोजकले आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर