
काठमाडौं : एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टिआइए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेसन’को प्रमाणीकरण पाएको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रूपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सूचीकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो ।
यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र संवेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रूपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पूर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्दछ । अधिकतम अपटाइमका लागि डिजाइन गरिएको यो डाटा सेन्टर पूर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाको समयमा पनि विनाकुनै अवरोध सञ्चालनमा रहन सक्षम छ, र पूर्ण रूपमा अतिरिक्त विद्युत आपुर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत लगभग ९९.९८२ प्रतिशत उपलब्ध रहन्छ । मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए)बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो ।
‘यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुंगा हो किनकी नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
‘हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौं, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षालाई पनि योगदान पुर्याउँछ । विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायहरूका लागि अत्यावश्यक छ जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पना समेत गर्न सक्दैनन् ।’