
रौतहट : जिल्लाको पश्चिमी क्षेत्रमा रहेको बौधीमाई नगरपालिकामा अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठुलो परिमाणको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच तीव्र झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने झडपमा परी तीन स्थानीय र तीन प्रहरी कर्मचारी गरी ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार जेठ २७ गते बेलुका अन्दाजी ७ :३० बजेको समयमा बौधीमाई नगरपालिका वडा नं. ७ स्थित बाडा बंकुल टोलमा नेपाल-भारत सीमाना नजिकै अवैध सामान लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएको थियो । सीमा क्षेत्रको बाटोको छेउमा रहेको मस्जिद पछाडि त्रिपालले छोपेर राखिएको अवस्थामा फर्सीको बिउ फेला परेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
स्थानीयको अवरोध र प्रहरीको बल प्रयोग
प्रहरी टोलीले अवैध सामान बरामद गर्न खोज्दा स्थानीय बासिन्दाहरूले नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए। भीडले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायव उपरीक्षक बसन्त गौतमको कमाण्डमा ५४ जना र सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमसागर बिष्टको कमाण्डमा ५४ जना गरी कुल १०८ जनाको संयुक्त सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
स्थानीयको ढुङ्गामुढा र अवरोधलाई तितरबितर पारी स्थिति नियन्त्रणमा लिन सुरुमा जिल्लाको टोलीले ४ राउण्ड र थप मद्दतका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले २ राउण्ड गरी जम्मा ६ राउण्ड अश्रुग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
झडप र ढुङ्गामुढाका क्रममा ६ जना घाइते भएका छन्, जसमध्ये ३ जना स्थानीय र ३ जना नेपाल प्रहरीका कर्मचारी रहेका छन् ।
घाइते स्थानीयहरू चन्द्र ज्योति कान्ती अस्पताल, बंकुलमा उपचार भइरहेको छ । बौधिमाई नगरपालिका-७ बस्ने ४० वर्षीया सुदामा देवी रायको जिउमा चोट लागेको थियो उनको अवस्था सामान्य छ । त्यस्तै ४० वर्षीया हिरा मोतिया देवी यादव जिउमा चोट लागेको थियो भने ४५ वर्षीय जयलाल ठाकुर हजाम बाँया खुट्टामा काटिएको र चोट लागेको थियो। उनीहरूको पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादवको बाँया खुट्टामा सामान्य चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक हवल्दार समझन चौधरीको दाहिने खुट्टामा चोट र प्रहरी चौकी हर्षाहा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार देवराज महतोको दाहिने खुट्टाको घुँडा मुनी हड्डीमा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई प्रादेशिक अस्पताल गौरमा सामान्य चेकजाँच गराएर कार्यालय फिर्ता ल्याइएको छ । प्रहरीले अवरोधका बीच उक्त स्थानको रितपूर्वक खानतलासी गर्दा त्रिपालले छोपेर लुकाई छिपाई राखिएको जम्मा ३२२ बोरा फर्सीको बिउ बरामद गर्न सफल भएको छ । प्रतिबोरा ४० केजीका दरले जम्मा १२ हजार ८८० किलोग्राम बिउ बरामद भएको हो ।
प्रहरीका अनुसार प्रतिबोरा २८ हजार रुपैयाँ बजार मूल्य कायम गर्दा बरामद गरिएको कुल फर्सीको बिउको मूल्य नब्बे लाख सोह्र हजार बराबर रहेको छ । बरामद गरिएको उक्त बिउलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जनाए ।
हाल घटनास्थल र आसपासको अवस्था पूर्ण रूपमा सामान्य रहेको र सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
