
काठमाडौं : प्रतिपक्ष दल नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले उक्त टिप्पणी गरेकी हुन् । उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधैं आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताइन् ।
उपनेता अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन् । उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराइन् ।