
काठमाडौं : कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवामा नयाँ आयाम थप्दै नेपालको पहिलो रियल–टाइम ईआरपी (एकीकृत डिजिटल कर्जा) प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले आएमएस सफ्टवेयर प्रा.लि.सँगको सहकार्यमा यो प्रणाली विकास गरेको हो ।
नयाँ प्रणालीमार्फत व्यवसायी ग्राहकहरूले अब बिनाधितो चालु पूँजी कर्जा पूर्ण रूपमा डिजिटल प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन् । कर्जा आवेदनदेखि स्वीकृति, वितरण र भुक्तानीसम्मका सबै चरणहरू अनलाइन र स्वचालित रूपमा सम्पन्न हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ईआरपी प्रणालीसँग प्रत्यक्ष एकीकरण भएपछि बैंकले व्यवसायहरूको बिक्री, कारोबार र मौज्दात सम्बन्धी वास्तविक–समय (रियल–टाइम) डाटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ । यसले परम्परागत धितो प्रक्रिया हटाउँदै छिटो र सटीक कर्जा निर्णय गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस प्रणालीअन्तर्गत ईआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नो कारोबार प्रदर्शनका आधारमा अधिकतम रु ५ लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा १२ महिनासम्म समान मासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था छ ।
बैंकका अनुसार माग, प्रयोग र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भविष्यमा कर्जा सीमा विस्तार गर्दै डिजिटल कर्जा प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाइनेछ । यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिअनुरूप रहेको बैंकले जनाएको छ ।
विशेषगरी साना तथा मझौला उद्यम लाई लक्षित गर्दै ल्याइएको यो सेवाले वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको कुमारी बैंकले यो प्रविधिमार्फत नेपालमा डिजिटल बैंकिङ रूपान्तरणको अग्रपंक्तिमा आफूलाई स्थापित गरेको जनाएको छ । बैंकले आगामी दिनमा पनि सरल, छिटो र प्रविधिमैत्री सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।