
अर्घाखाँची : बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनशैलीका कारण वृद्धवृद्धा परिवारबाट टाढिने प्रवृत्ति बढिरहेका बेला सन्धिखर्क नगरपालिकाले घरमै ज्येष्ठ नागरिकको सेवा–सुसार गर्ने बुहारीहरूलाई सम्मान गर्दै सकारात्मक सामाजिक सन्देश दिएको छ ।
नगरपालिकाले ‘उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम’अन्तर्गत १२ वटै वडाबाट ८० वर्षभन्दा माथिका सासू–ससुराको समर्पित रूपमा हेरचाह गर्दै आएका बुहारीहरूलाई सम्मान गरेको हो। कार्यक्रमको उद्देश्य वृद्धवृद्धालाई परिवारभित्रै सम्मानपूर्वक राख्ने संस्कारको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा जिम्मेवारीबोध बढाउनु रहेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रमभन्दा आफ्नै घरमा माया, साथ र सम्मान आवश्यक हुने उल्लेख गर्दै परिवारभित्र सेवा गर्ने संस्कारलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए ।
उपप्रमुख मिश्रा आचार्यले वृद्धवृद्धाको सेवा केवल पारिवारिक दायित्व मात्र नभई सामाजिक उत्तरदायित्वसमेत भएको बताउँदै यस्ता सम्मानले आगामी पुस्तालाई अभिभावकप्रति संवेदनशील बन्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
सम्मानितमध्ये सन्धिखर्क–१ की चन्द्रा गैरेले सासू–ससुराको सेवा गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै अभिभावकको आशीर्वादले परिवारमा सुख, शान्ति र प्रगति आएको अनुभव सुनाइन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालका अनुसार वृद्धवृद्धाको नियमित स्याहार–सुसार, औषधोपचार, खानपान व्यवस्थापन तथा दैनिक हेरचाहमा विशेष योगदान पुर्याएका बुहारीहरूलाई वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरिएको हो। सम्मानित बुहारीहरूलाई करुवा, खादा तथा यातायात खर्चसहित सम्मान गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, कार्यपालिका सदस्य सीता बस्नेत, समाजसेवी कमला भण्डारी चहिला, बालबालिका शाखा प्रमुख बेलकुमारी परियार लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वृद्धाश्रमको संख्या बढ्दै गएको र वृद्धवृद्धा परिवारबाट टाढिने प्रवृत्तिबीच सन्धिखर्क नगरपालिकाको यो अभियानलाई सामाजिक रूपमा सकारात्मक तथा दूरगामी महत्वको कदमका रूपमा हेरिएको छ । नगरपालिकाले परिवारभित्र प्रेम, सम्मान र जिम्मेवारीको संस्कारलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।