२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाल लेखामान बोर्डको अध्यक्षमा धिताल नियुक्त

Nada
२०८३ जेठ २९ गते १६:३४
Shares
नेपाल लेखामान बोर्डको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं : सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकको चौतारा नगरपालिका स्थायी घर भएका धिताललाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम लेखामान बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ncell

लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्ने उद्देश्यका साथ धितालको नियुक्ति गरिएको हो ।

नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव छ । उनले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित 'बिग ४' मध्येको एक वित्तीय परामर्शदाता कम्पनी अर्न्स्ट एन्ड योङ, मुम्बईबाट सुरु गरेका हुन् ।

धितालले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौं बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवाको नेतृत्व गरिसकेका छन् । साथै, उनले एसियाली विकास बैंकका विभिन्न परियोजनाहरूमा समेत विभिन्न भूमिकामा कार्य गरेका छन् ।

धितालले नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी (एफसिए) गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबिए, अमेरिकाको आइएसएसिएबाट सिसा र बेलायतको एसिसिएबाट डिपआइएफआर जस्ता उच्च व्यावसायिक र प्राविधिक योग्यताहरू रहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रूपमा कार्य गरिसकेका धिताल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको परीक्षा समिति सदस्य छन् । यसअघि उनले लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिइसकेका छन् । उनले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा समेत योगदान पुर्‍याउँदै आएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार धितालको विज्ञता र क्षमताको आधारमा उनलाई नियुक्ति गरिएको हो । धितालको नेतृत्वले नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूसँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर