
दोहा : विश्व रक्तदाता दिवस–२०२६ को अवसरमा कतारमा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतार र नेपाली रक्तदाता संघ कतारको संयुक्त आयोजनामा हमाद अस्पतालस्थित ब्लड डोनर सेन्टरमा शुक्रबार सम्पन्न कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन् ।
“रक्तदान–जीवनदान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सयौंको संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा कतारका लागि नेपाली कार्यवाहक राजदूत कुमार राईसहित कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो । बिहान करिब साढे आठ बजेबाट सुरु भएको कार्यक्रम मध्याह्नसम्म सञ्चालन भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजकले रक्तदान प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
नेपाली रक्तदाता संघ कतारका कार्यवाहक अध्यक्ष छविलाल भट्ट राईले रक्तदानले दुर्घटनामा परेका, शल्यक्रिया गराइरहेका, क्यान्सर तथा जटिल रोगबाट पीडित बिरामीहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्ने बताए । उनले रक्तदान गर्न सक्षम प्रत्येक व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, हमाद अस्पतालको चिकित्सक टोली, विभिन्न संघ–संस्थाका नेतृत्व तह, प्रतिनिधि तथा उपस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरे। उनले रक्तदानले कसैको जीवन बचाउने अमूल्य अवसर प्रदान गर्ने भएकाले यसलाई सामाजिक दायित्व र मानवीय सेवाका रूपमा आत्मसात् गर्नुपर्ने बताए । उनले भविष्यमा पनि यस्ता मानवीय तथा समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे ।
विश्व रक्तदाता दिवस हरेक वर्ष जुन १४ मा विश्वभर मनाइन्छ । सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्नुका साथै स्वैच्छिक रक्तदाताहरूको योगदानको सम्मान गर्ने उद्देश्यले मनाइने यस दिवसको अवसरमा कतारमा सम्पन्न कार्यक्रमले नेपाली समुदायबिच मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।