२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

निजी सञ्चारमाध्यम आर्थिक संकटमा, विज्ञापन नीतिप्रति महासंघको असन्तुष्टि

Nada
सूर्यप्रसाद भुसाल
२०८३ जेठ ३० गते २०:५८
Shares
निजी सञ्चारमाध्यम आर्थिक संकटमा, विज्ञापन नीतिप्रति महासंघको असन्तुष्टि

अर्घाखाँची : नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १७ औं साधारणसभा शनिबार होटल साथीको सभाहलमा सम्पन्न भएको छ ।

ncell

साधारणसभामा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर छलफल गरिएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले बताए । खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियसनले पछिल्लो समय पत्रकारिता पेशा विभिन्न चुनौतीबीच गुज्रिरहेको उल्लेख गरे । उनले पत्रकारहरू एकताबद्ध भएर पेशागत अस्तित्व र सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन अग्रसर हुनुपर्ने बेला आएको बताए ।

उनले सामाजिक सञ्जालको तीव्र प्रभावका कारण सूचना प्रवाहको स्वरूप परिवर्तन भए पनि मूलधारका सञ्चारमाध्यमको भूमिका अझै सशक्त र अपरिहार्य रहेकोमा जोड दिए । ‘पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्न सकेमात्र पत्रकारिताप्रतिको जनविश्वास कायम रहन्छ,’ प्रियसनले भने ।

सरकारले सञ्चारमाध्यमप्रति लिँदै आएको विज्ञापन नीति अस्थिर रहेको टिप्पणी गर्दै निजी सञ्चारमाध्यम आर्थिक संकटमा परेको बताए । पत्रकारिताको संस्थागत अस्तित्व जोगाउन पेशागत एकता आवश्यक रहेको भन्दै उनले अर्घाखाँची शाखाले साधारणसभामार्फत देशभरका पत्रकारलाई नेतृत्वदायी दिशा दिन सक्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्दै गएको बताए । उनले राज्यले विभिन्न कानुन तथा सरकारी परिपत्रमार्फत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए । पोख्रेलले महासंघले प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आन्दोलन गरिरहेको जानकारी दिँदै अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारितालाई व्यवस्थित बनाउन लागि पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले नेपाली पत्रकारिता मर्यादित बाटोबाट क्रमशः विचलित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले विगतमा सामाजिक सञ्जाल बन्द हुँदा समेत महासंघ प्रभावकारी रूपमा उभिन नसकेको टिप्पणी गरेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पत्रकारिताको पेशागत संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै सरकारका कारण धेरै पत्रकारहरू अहिले विस्थापित हुन पुगेकोमा चिन्ता व्यक्त गरे । श्रेष्ठले मर्यादित संस्थाले सही निर्णय लिन नसके थप संकट निम्तिन सक्ने भन्दै पत्रकार महासंघलाई स्वतन्त्र रूपमा अगाडि बढ्न आग्रह गरे ।

अर्घाखाँची शाखाका अध्यक्ष गणेश खनालले आफ्नो कार्यकालमा शाखाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय भूमिका खेलेको जानकारी दिए । खनालका अनुसार शाखाले ‘मिडिया बचाउ अभियान’, पत्रकार तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सीमित स्रोतसाधनका बाबजुद शाखाको गरिमा उँचो राख्ने प्रयास गरिएको उल्लेख गर्दै शाखा अध्यक्ष खनालले आगामी दिनमा पनि पत्रकार हित र संस्थागत विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णु प्रसाद भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्यलगायत विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका संस्थापक अध्यक्ष विष्णु प्रसाद भुसालले पत्रकार महासंघले गर्ने हरेक गतिविधि नागरिकको पक्षमा केन्द्रित हुनेमा जोड दिए । उनले सरकारी विज्ञापनको पत्रकारले आश गर्न नहुने बताउँदै कन्टेन्ट बेच्ने तर्फ लाग्न पत्रकारहरूलाई आग्रह गरे । 

कार्यक्रममा शाखाका उपाध्यक्ष रुद्रमणि भुसालको स्वागत मन्तव्य तथा सहसचिव घनश्याम पौडेलको सञ्चालन रहेको थियो । 

साधारणसभाको बन्दसत्रमा सहसचिव घनश्याम पौडेलले वार्षिक सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष नवीन केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो । सहसचिव पौडेलले साधारणसभामा पेश गरेको प्रतिवेदन उत्कृष्ट भएको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए ।

साधारणसभाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशागत मर्यादा संरक्षणलाई प्राथमिकतामा राख्दै घोषणापत्रसमेत जारी गरेको छ । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्षहरू विष्णु प्रसाद भुसाल, निमबहादुर रिजाल, शोभाखर पन्थी तथा अशोक खनाललाई शाखाको तर्फबाट सम्मान गरिएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष नवीन केसीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर