
काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले चालक–केन्द्रित सेवा मोडल, आयमा पारदर्शिता, र स्वतन्त्र निर्णयको अधिकारप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
नेपालको पाँच वर्षे यात्रालाई अविस्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदाउट प्रेसर) नामक नयाँ ब्राण्ड अभियान सार्वजनिक गरेको छ । जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने यस अभियानले चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ ।
इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि नै यात्री र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर-टु-पियर’ मोडललाई प्रवर्धन गर्दै आएको छ । यस प्रणालीले चालकहरूलाई यात्राको छनोट र कार्य समय निर्धारणमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको कम्पनीको दाबी छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार, पछिल्लो पाँच वर्षमा कम्पनीले चालकहरूले विश्वास गर्न सक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान दिएको छ । उनले भनिन्, “हामीले निरन्तर रूपमा चालकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्ने प्रयास गरेका छौं ।”
पछिल्लो समय नेपालमा राइड-हेलिङ सेवा हजारौं नेपालीका लागि आयआर्जनको महत्त्वपूर्ण स्रोत बनेको छ, जसले रोजगारीका वैकल्पिक अवसरहरू सिर्जना गर्न योगदान पुर्याइरहेको छ । इनड्राइभले नेपाललाई आफ्नो दक्षिण एसियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा लिएको बताएको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होम कमिङ मिटर’ अभियान पनि सुरु गर्ने घोषणा गरेको छ । यस पहलअन्तर्गत वैदेशिक रोजगारीका लागि विदेश पुगेर पछि स्वदेश फर्किएका र इनड्राइभ प्लेटफर्ममार्फत नेपालमै आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका चालकहरूको प्रेरणादायी यात्रा सार्वजनिक गरिनेछ ।
यो अभियान केवल व्यक्तिगत सफलताका कथाहरूको प्रस्तुति मात्र नभई श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना र स्वदेशमै आयआर्जनका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको कम्पनीको विश्वास छ । यसले विदेशबाट फर्किएका नेपालीहरूले स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न सक्ने सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको छ ।