
काठमाडौं : यशोधा फुड्स प्रा.लि.ले आफ्नो उत्पादन ‘करेन्ट चाउचाउ’ को एउटा निश्चित ब्याचबाहेक अन्य सबै उत्पादनहरू खान योग्य र सुरक्षित रहेको स्पष्ट पारेको छ ।
हालै एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको भनिएको एउटा विशिष्ट ब्याच बाहेक बजारमा उपलब्ध अन्य सबै 'करेन्ट' चाउचाउ उपभोग गर्न सकिने जनाएको हो ।
कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको प्याकेट, जसको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए रहेको छ, सो ब्याचमा मात्र समस्या देखिएको हो । खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कम्पनीले यो विशेष ब्याचका बारेमा स्पष्ट पारेको हो ।
यशोधा फुड्सले उक्त मितिबाहेक अन्य मितिमा उत्पादन भएका ब्याच नम्बर ‘०४ए’ वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने बताएको छ ।
कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेताहरूलाई उक्त एक ब्याचबाहेक अन्य सबै उत्पादनहरू ढुक्क भएर बिक्री-वितरण तथा उपभोग गर्न आग्रह गरेको छ । 'करेन्ट' ब्रान्डका अन्य सबै उत्पादनहरू गुणस्तर मापदण्ड अनुसार नै रहेको कम्पनीको दाबी छ ।