
काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूलाई सहयोग सामग्री प्रदान गरेको छ ।
बैंकले देशका विभिन्न क्षेत्रमा रहेका प्रहरी निकायहरूलाई आवश्यकता अनुसारका सामग्रीहरू हस्तान्तरण गरेको हो । जसअनुसार जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ, साइगाउँ प्रहरी चौकी बाँके र जिल्ला प्रहरी कार्यालय काँकडभिट्टा, झापालाई कम्प्युटर, फर्निचर तथा अन्य अत्यावश्यक कार्यालय सामग्रीहरू उपलब्ध गराइएको छ ।
यसैगरी, बैंकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै ट्राफिक जिल्ला प्रहरी कार्यालय (गुलरिया, बर्दिया) लाई रोड डिभाइडर र ट्राफिक सचेतनामूलक बोर्डहरू समेत सहयोग गरेको छ ।
बैंकको यस सहयोगले प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन र आम नागरिकलाई दिइने सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर बैंकले सामाजिक विकास, सुशासन र सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
आगामी दिनहरूमा पनि समाजको दिगो विकास र स्थानीय समुदायको सशक्तीकरणका लागि यस्ता विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।